

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म क्षेत्र भारतीय फिल्मबाट प्रभावित बनेको बन्दै अब उताको कपी गर्न छाड्नु पर्ने सुझाव दिएकी छन्।
‘विश्वभरका कथाहरूको उत्सव’ नारासहित काठमाडौंमा जारी ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा’ शनिबार ‘सिनेमा संवाद विथ मनिषा कोइराला’ शीर्षकको छलफल भएको थियो। जसमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन्।
उनले आफूले २० वर्षअघि नै नेपाली फिल्ममेकरले आफ्नै माटोको कथा भन्नु पर्ने सुझाव दिएको स्मरण गर्दै यही भनेको कारण त्यो बेला आफ्नो खुबै आलोचना भएको सुनाइन्। तर, अहिले भने केही नेपाली फिल्म मेकरले आफ्नै माटोको कथा भनिरहेको उनको तर्क छ।
प्रश्नकर्ताले तपाईंले पछिल्लो समय कुन नेपाली फिल्म हेर्नु भएको छ भन्ने प्रश्नमा मनिषाले भनिन्, ‘मैले हेर्नै पाएको छैन। म आफ्नो सिनेमा पनि हेर्दिन।’
उनले शर्ट नेपाली फिल्म मात्र हेरेको र त्यो हेर्दा निकै खुसी लागेको सुनाइन्। मनिषाले नामै लिएर निर्देशक मीन बहादुर भामको तारिफ पनि गरिन्। मीनजस्ता मेकरलाई उत्प्रेरित गर्नुपर्ने उनले सुझाइन्।
मनिषाले आफूले ३५ वर्षजस्तो अभिनयमा काम गरेको बताउँदै कहिले स्रिप्ट, कहिले टिम, कहिले पैसा हेरेरै अभिनय गरेको बताइन्। तर, आफूलाई क्यान्सर भएपछी भने मन खुसी हुने ठाउँमा मात्र अभिनय गर्ने स्थानमा पुगेको बताइन्।
२० वर्षको अन्तरालपछि आफूले संजयलिला भन्सालीसँगको सहकार्यमा ‘हिरामण्डी’ गरेको र पछिल्लो समय महिलाप्रधान फिल्मलाई ओटिटिले प्रोत्साहन गरेकोमा खुसी देखिइन्। ‘हिरामण्डी’मा आफूले दुई सय प्रतिशत दिएको भन्दै त्यस चरित्रको अभिनय गर्न निकै कठिन भएको अनुभवसमेत उनले सुनाइन्।
उपस्थित एक प्रश्नकर्ताको जवाफमा उनले ‘हिरामण्डी’ गरिसकेपछि उक्त चरित्रबाट बाहिर निस्किन झन्डै एक वर्ष लागेको बताइन्।
‘त्यो रोल गर्दा मैले धेरै मेहनत गरेको थिएँ, इमोसनल्ली पनि जोडिएँ, त्यसैले बाहिर निकिन निकै गाह्रो भएको थियो। दिमागमा कहीं न कहीं प्रभाव पार्छ नै, उनले भनिन्।
संजय दत्त आफू बाल्यकालको क्रस भएको सुनाउँदै आफूले कोठामा उनको तस्बिर राख्दा घरमा आमा-बाबाले नदिएको बताइन्। पछि उनै दत्तसँग काम गर्दासमेत यो कुरा उनलाई सुनाएको मनिषाले भनिन्।
आफूले जीवनमा फिल्म छान्दा धेरै पटक गलत भएको भन्दै पछि पछुतो भएको मनिषाले भनेकी छन्।
‘असफलताले धेरै कुरा सिकाउँछ, मान्छेको चरित्र बनाउँछ, मान्छेको धरातल बुझाउँछ। त्यसैले असफलता भन्ने नै हुँदैन,’ नयाँ पुस्तालाई सुझाव दिंदै उनले भनिन्।