

एकथरी भन्दै छन्– यदि परिवर्तन उल्टाउनु खोज्छन् भने हामी राजावादीहरूसँग अन्तिम युद्ध लड्न तयार छौँ, गलत बाटोबाट राजा बनेका चौतारीया ज्ञानेन्द्रले फेरि पनि जनअधिकार मिचेर राज्य सत्तामा पुग्न खोजे र पञ्चायतका हिरोहरू नवराज सुवेदी, कमल थापाहरूलाई प्रधानमन्त्री बनाउन खोजे भने यो कदापि मानिँदैन, फेरि अर्को १७ हजार मार्न र मर्न तयार छौं ।
फेरि अर्का थरी भन्दैछन्– होइन शान्त भएर बसेको इतिहास किन चलमलाएको ? नेपाली जनताले अवस्था परिवर्तन खोजेका हुन, व्यवस्था परिवर्तन कदापि होइन, बरु संघीयता भारी र खर्चिलो भएको हो, यो खारेज गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा राम्रो छ, संविधान सुधार गरेर स्थापित गर, स्थानीय तहलाई अझै बलियो बनाऊ, संघले प्रदेशको अधिकारलाई अझैसम्म अंकुश लाइरहेको छ, प्रदेश मन्त्री र प्रदेश सांसद भैँसी गोठाला जस्ता देखिन्छन् यो हटाऊ तर, जनताका छोराछोरीलाई फेरि रैती बनाउने काम झुक्किएर पनि नगर, राजा गद्दीमा बस्दैमा अहिले नमिलेका सबै मुद्दा छु मन्तर गरेर मिल्ने वाला छैन, किनकि अहिले राष्ट्रपति राम चन्द्र पौडेलले के नौ गरेका छन् र उनको हातमा के शक्ति छ ? फेरि पनि सेरेमोनियल राजाले के गर्छन् ? कार्यकारी हुँदा त केही भएन भने ?
जनताले ल्याएको यो परिवर्तनलाई कुनै दरबारीया भूतहरूले यदि उल्टाउनु खोज्छन् भने त्यो कदापि सह्य हुँदैन । आन्दोलनद्वारा पूर्वराजा र राजपरिवारको निजी सम्पत्ति, निवास र उनीहरूसँग सम्बन्धित चल अचल सम्पत्ति, दाइको वंश सकिएपछि अपुतालीमा मिलेको धन दौलत फेरि एक पटक जनताको कब्जामा आउनेछ । व्यवस्थामा भएका आजसम्मका कमी कमजोरी सुधार्नु पो पर्छ त, व्यवस्था नै उल्टाउनु खोज्नु देशलाई फेरि संकटतर्फ धकेल्नु हो । समयको घडीको सुइ कहिले उल्टो घुम्दैन । राजा हुनैका लागि शक्ति प्राप्तिकै निमित्त अहिले गोर्खा र देवीस्तुती गर्दै हिँड्ने ज्ञानेन्द्र आफूले चाहिँ हिन्दु धर्मका नाउँमा कुन मन्दिर स्थापना गरे ? जनताको लागि कहाँ हस्पिटल बनाए ? कुन बाटो र कुन पुल निर्माण गरे ? सामाजिक क्षेत्रमा उनको पूर्वजको योगदान होला तर उनको योगदान के छ ?
गणतान्त्रिक संविधानले सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था गरेको छ । जनताका छोराछोरीलाई कार्यकारिणी अधिकारसहितको राष्ट्र प्रमुख बनाउने गरी ल्याइएको गणतन्त्रको विकल्प फेरि त्यही निरंकुश राजसंस्था हुनै सक्दैन । संविधान प्रदत्त वाक स्वतन्त्रताले बोल्न र विरोध गर्न पाएका छौँ । पात्रहरू नराम्रा होलान् । फेर्न सकिन्छ ।
सुधार गर्नुपर्ने विषयहरू धेरै होलान् । सुधार्न सकिन्छ । असक्षम तथा अदूरदर्शी नेताहरूप्रतिको आक्रोश गणतान्त्रिक शासन व्यवस्था माथि पोख्नु पाखण्डताको पराकाष्ठा हो । गणतान्त्रिक संविधानले सुनिश्चित गरेको स्वतन्त्रता, समावेशिता, सार्वभौमसत्ता गुमाएर दासत्व स्विकार्ने मूर्खता आजको माग होइन ।
राजसंस्थाको सत्ता मोह र आकांक्षाले मुलुक फेरि दूरगामी द्वन्द्व र मुठभेड निम्त्याउन खोज्दै छ । परिवर्तनको नाउँमा फेरि जंगली जीवन स्वीकार गर्न सकिँदैन । कार्यकारी बन्ने सपना देखेकै हो भने र अझैसम्म पनि जनलोकप्रीय छु भन्ने लागेको हो भने ज्ञानेन्द्र फेरि भोट बाट स्थापित होउन् ।यो संविधानले त्यो ढोका पनि खोलिदिएको छ । अहिले जुन किसिमका हरकत भइरहेका छन् ती सबै काम संविधान विरोधी काम हो ।
राजसंस्था फर्काउनका लागि ज्ञानेन्द्रले आफ्नो ६ वर्षे कार्यकालमा के त्यस्तो जनप्रिय काम गरे र उनलाई फेरि सत्तासीन बनाउनु ? उनीमाथि लागेको वंश हत्याको आरोप अझै पखालिएको छैन । उनले त्यो कृत्य गरे या गरेनन् ईश्वरले जानुन् तर, २४ पल्टनको सुरक्षित घेरा तोडेर अर्को देशको व्यक्ति दरबारको ताल्चा खोलेर, हतियार बोकेर भकाभक नेपालको राजपरिवारलाई सिध्याउन सक्दैन र वीरेन्द्रलाई नेपालीले नै मारेको हो । नेपाली सैनिकले त्यो जिम्मा लिनुपर्छ र सत्य तथ्य कुरो बाहिर आउनुपर्छ ।
महाभारतमा यदु बम्शीहरू अरूको कारणले होइन, आफ्नै कारणले सकिएका हुन । त्यही उदाहरण नेपाली राजसंस्थामाथि पनि लागू हुन्छ । भारतीय गुरु आदित्यनाथको बुई चढेर राजसंस्था फर्किन्छ भन्दै राप्रपाका नेताहरू गणतन्त्रको भत्ता खाएर राजतन्त्रको भजन गाउँदै हिँडिरहेका छन् । कमल थापा र राजेन्द्र लिङ्देल जस्ता ‘अपरचुनिस्ठ’हरू गणतन्त्रमा पटक–पटक मन्त्री भएका छन् । गणतन्त्रप्रति यति घृणा थियो भने किन मन्त्री खाए ? सत्ता पाए जस्तोसुकै सम्झौता गर्न पनि तयार छन् राजसंस्थावादीहरु । यिनीहरू आ–आफूमै फाटो र झगडा छ । दुर्गा प्रसाईं एकातिर, राप्रपा अर्कोतिर, केशरबहादुर विष्ट अर्कोतिर, कमल थापा अर्कैतिर ।
राजा ल्याउने जस क–कसले लिने भन्ने कुरामा पनि राजावादीहरूभित्र आफैँमा द्वन्द्व चलिरहेको छ । विश्व इतिहासमा राजा फर्किएको इतिहास छ भनेर देखाउँदै जमिन बाझो राखेर जनतालाई फेरि रैती बनाउने फेरि झगडामा फसाउने नियत ठिक होइन ।
अहिलेको यो हल्ला बाझी र सडक तताउने खेललाई नेपालका राजनीतिक पार्टीहरूले आफूलाई सच्याउने मौकाको रूपमा उपयोग गर्नु अत्यन्तै जरुरी छ । हो गणतन्त्रपछि हाम्रो गन्तव्य अन्योलतातिर गएकै हो । हामी अलमलिएको कुरामा सहमत हुनुपर्छ । काम गर्नेले हल्ला गर्दैन । उखान टुक्काले देश चल्दैन । अधिकार सम्पन्न सार्वभौमसत्ता जनतामा निहित भएको यो गणतन्त्र सिध्याउन केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डहरूले फेरि एक फेर माफी माग्दै संविधान सुधार गरेर गणतन्त्रलाई नै चुस्तजुरुस्त कम खर्चिलो बनाउँदै जनतालाई रैती हुनबाट बचाउनुको विकल्प छैन । होसियार नेपाली जनता मर्न चाहन्छन् तर, रैती हुन चाहँदैनन् !