

नेपालका युवाहरूको निराशा दिनप्रतिदिन बढ्दै गएको छ । यो निराशा केवल अस्थायी असन्तुष्टि होइन; यसका जरा सामाजिक, राजनीतिक र आर्थिक संरचनाभित्र गहिरो रूपमा गाडिएका छन् । बेरोजगारी, अवसरहरूको अभाव, कुशासन र अस्थिर भविष्यले युवाहरूलाई देशप्रति नै वितृष्णा जागृत गराइरहेको छ ।
नेपालमा शिक्षा प्रणालीलाई जीवनयापनसँग जोड्ने कुनै ठोस नीति बन्न सकेन । विश्वविद्यालयहरूबाट वर्षेनी हजारौँ विद्यार्थी स्नातक भएर निस्कन्छन्, तर तिनका लागि न जागिर छ, न त उद्यमशीलताको वातावरण । उच्चशिक्षा प्राप्त गरे पनि अवसरहरू अभावमा विदेशिने प्रवृत्ति बढ्दै गएको छ । स्वदेशमै केही गर्ने चाहना राख्नेहरूलाई पनि लगानी, बजार पहुँच र नीति–निर्माणमा देखिने असहयोगी संरचनाले निरूत्साहित पारिरहेको छ ।
राजनीतिक अस्थिरता अर्को प्रमुख कारण हो । दशकौँदेखिको संक्रमणकालीन राजनीति, असक्षम नेतृत्व र भ्रष्टाचारले युवा पुस्तालाई व्यवस्था परिवर्तनप्रति निराश बनाएको छ । सत्तामा बसेकाहरूको प्राथमिकता सधैँ आफ्नो स्वार्थपूर्तिमै केन्द्रित हुने भएकाले पनि युवाहरू वैकल्पिक व्यवस्थाको खोजी गर्न थालेका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको शासन प्रणालीमा प्रभावकारी सुधार नआउँदासम्म यो निराशा हट्ने सम्भावना देखिँदैन ।
युवाहरूका लागि अवसरहरू सीमित हुनुको अर्को कारण आर्थिक संरचनाको जटिलता हो । कृषिमा निर्भर अर्थतन्त्र, कमजोर औद्योगिक विकास र आधुनिक प्रविधिमा आधारित रोजगारीका अवसरहरूको अभावले युवाहरूलाई स्वदेशमा टिक्न कठिन बनाएको छ । श्रम बजारको अनिश्चितताले आत्मनिर्भर बन्न खोज्नेहरूलाई पनि निरूत्साहित गरिरहेको छ ।
सामाजिक संरचनाले समेत युवाहरूलाई निराश बनाउने काम गरेको छ । पारिवारिक र सामाजिक अपेक्षाहरू पूरा गर्नुपर्ने दबाब, पुरातन सोच र नयाँ प्रवृत्तिहरूलाई सहजरूपमा स्वीकार्न नसक्ने मानसिकताले युवाहरूको स्वतन्त्रता संकुचित गरिरहेको छ । नयाँ सोच, नवप्रवर्तन र नवीनतम प्रविधिको उपयोग गर्न चाहने युवाहरू परम्परागत मूल्य–मान्यता र संरचनाबाट बाँधिएका छन् ।
नेपालमा वैकल्पिक व्यवस्थाको खोजी हुनु स्वाभाविक हो । विद्यमान प्रणालीले युवाहरूको आशा र आकांक्षा पूरा गर्न नसकेको अनुभूति भएका कारण उनीहरू नयाँ मोडेलको परिकल्पना गर्न थालेका छन् । यो राजनीतिक, आर्थिक वा सामाजिक जुनसुकै रूपमा हुन सक्छ, तर विद्यमान संरचना परिवर्तन हुनुपर्छ भन्ने आवाज स्पष्ट रूपमा उठिरहेको छ ।
वैकल्पिक व्यवस्थाको खोजी केवल आक्रोशको परिणाम होइन; यो समाधानको चाहना पनि हो । यदि सरकार र समाजले युवाहरूको आवाजलाई समयमै सम्बोधन गर्न सकेन भने यो असन्तुष्टि गहिरिँदै जान्छ ।
अन्ततः, युवाहरूको निराशा केवल उनीहरूको मात्र समस्या होइन; यो मुलुककै भविष्यसँग जोडिएको विषय हो । यदि युवा पुस्ताले नेपालमै अवसर देखेनन् भने उनीहरू विकल्प खोज्न बाध्य हुन्छन् । चाहे त्यो विदेश जानु होस् वा नयाँ प्रणालीको परिकल्पना गर्नु । स्थिरता, सुशासन र अवसरहरूको सुनिश्चितता बिना युवाहरूको आक्रोश मर्ने छैन, बरू झन् बढ्दै जानेछ ।
अहिले पूवराजा ज्ञानेन्द्र शाह हुन् वा उनका समर्थकहरू यही निराशामा अवसर देखिरहेका छन् । उनीहरूले यही निराशालाई बिकाएर जनतालाई पछाडि फर्कंदा उत्तम हुन्छ भन्ने भ्रम बाँडिरहेका छन् । जुन निकै दुर्भाग्यको विषय हो तर, यही अवस्थालाई सम्बोधन गर्ने ल्याकत अहिलेको मुख्य नेतृत्वले नदेखाउनु पनि अर्को दुर्भाग्य हो ।
पंक्तिकारले चीनको मकाउबाट नेपाललाई हेर्दै गर्दा, अवस्था धेरै जटिल देखेको छ । जसको समाधान अहिलेको नेतृत्वमै समयमै गर्नुपर्ने देखिन्छ । नत्र नेपालमा छिट्टै सकस बढ्नेमा दुविधा छैन ।