

काठमाडौं । ‘वर्ण व्यबस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्का…’ सार्वजनिक भएको फिल्म ‘बसन्त’को सबैभन्दा बलियो पक्ष भनेकै यही उद्वरण हो। यो केवल उद्वरण मात्र हैन, फिल्म मेकरले ३५ वर्षदेखि रहँदै आएको वर्ण व्यबस्था र त्यसले जन्माएको जात व्यबस्थालाई स्वीकार गरिएको पनि हो।
यसअघि नेपाली फिल्म क्षेत्रमा जति पनि जातीय विभेदका विषयमा फिल्म बनेका छन्, तिनले न त वर्ण व्यवस्थाले जात व्यबस्थालाई जन्माएको तथ्यलाई पस्किन सकेका छन् न त जात व्यबस्थालाई गरिएर प्रस्तुत गरेका नै छन्। खाली जातीय विभेद र छुवाछूत गर्नु हुँदैन भन्ने गरी सतही सचेतना फैलाउने गरी मात्र नेपाली फिल्म बन्ने गरेकोमा प्रकाश सपूतको निर्देशन र लेखनमा बनेको फिल्म ‘बसन्त’ले त्यसलाई तोड्न खोजेको ट्रेलरमा देख्न सकिन्छ।
यो कथा बागलुङको धम्जा गाउँ आसपासको हो, जुन २०६२/०६३ सालको पृष्ठभूमिबाट अगाडि बढाइएको छ। ट्रेलर हेर्दा मूलत: अन्तरजातीय प्रेम र विवाहलाई अलि बढी नै प्राथमिकता दिइएको देखिन्छ। तर, त्यसमै खुसुक्क जोडिएको छ, हाँस्यरस, एउटा सन्तान र आमा-बुवाबीचको प्रेम अनि राजनीति पनि।
जातीय विभेदको समाधान राजनीतिक बाटोमार्फत मात्रै सम्भव छ भन्ने तथ्यलाई ट्रेलरको अन्तिमतिर देखिएको छ, जुन शतप्रतिशत सत्य हो। तर, राजनीतिक योद्वा पनि कत्तिको शसक्त र परिमाणमुखी छ अथवा फिल्म ‘प्रसाद-२’को पात्र बाबुराम (दलित) जस्तै अपूरो संघर्षलाई व्याख्या गरिएको छ? त्यो सबै हेर्न भने फिल्मै हेर्नुपर्ने हुन्छ।
ट्रेलरमा देखाइएअनुसार जातीय विभेद हटाउन भन्दै केही युवा बन्दुक समातेर जंगल पसेका छन्। अन्तर्जातीय विवाहलाई नस्वीकारेपछि स्वस्तिमा खड्का शसस्त्र विद्रोही बनेकी छन्। फेरि पनि सिङ्गै कथा भने पात्र बसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध सङ्कटमा छ।
जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ। पूरै फिल्ममा पनि अन्तरजातीय प्रेम र विवाह नै मात्रै दलित समूदायको समस्या हो जसरी प्रस्तुत गरिएको छ कि भन्ने शंका गर्न सकिन्छ, ट्रेलर मात्रै हेर्दा। तर, त्यसो रहेछ भने त्यो उहीं पुराना फिल्महरू ‘सिमाना’, ‘बाटो मुनीको फूल’ भन्दा माथि उठ्न सक्ने छैन।
किताब लेख्ने सपना देखेको दलित युवकको संघर्ष ट्रेलरमा देख्न सकिन्छ, ऊ नै फिल्मको मूख्य पात्र पनि हो। ट्रेलर सार्वजनिक गर्दै गर्दा पनि प्रकाशले, ‘बसन्तको माध्यमबाट हामीले शान्ती, सपना, प्रेम र सत्य खोज्ने प्रयास गरेका छौं। पात्रको नाम पनि त्यही अनुसार राखिएको छ’ भनेका छन्।
ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी रहेका अनुप बराल भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।’ त्यसपछि पात्र बसन्त ठाडै सोध्छन्, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि?’
यस दृश्यले समाजमा जात व्यबस्थाले सिर्जना गरेको तितो यथार्थप्रति कटाक्ष गरेको छ। अर्को बलियो पक्ष भनेको दलित समुडायको कथा भन्दै गर्दा फिल्म मेकर, निर्देशक, कलाकारसम्म पनि त्यही समुदायको छन्। यसले कथाको स्वानुभूति प्रदान गर्न विशेष अर्थ राख्छ। ‘महिलाको मर्म महिलाले नै बुझ्छन्’ भनेजस्तै दलितको कथा दलितबाटै भनिन खोजिएको छ, जुन आफैंमा प्रशंसनीय छ।
यी त भए ट्रेलर हेरदा देखिएका सकारात्मक र आशालाग्दा दृश्य अनि अरू पक्षहरू।
अब अर्को एङ्गलबाट पनि :
दर्शकको ध्यान तान्ने पहिलो झलक ट्रेलरलाई मानिन्छ। तर ट्रेलरमै फिल्मको सबै कथा भनिदिँदा अनि कथा लुकाउन अमूर्त ट्रेलर बनाउँदा डुबेका फिल्महरू पनि टन्नै छन्। ‘बसन्त’को ट्रेलर हेर्दा पनि आधाउधी कथा भनिसकेको होकी जस्तो अनुभूति हुन्छ, निर्देशकले ट्रेलर काट्दा जति सस्पेन्स राख्नु पर्ने हो, त्यस्तो गर्न चुकेको हिकी जस्तो लाग्छ।
त्यो भन्दा पनि महत्वपूर्ण पक्ष भनेको, ट्रेलर निकै लामो काटिएको छ। अनि साउन्ड मिक्सिङमा पनि अलि सुधार गर्नुपर्ने देखिन्छ। कतिपय संवादहरूलाई पृष्ठभूमिको संगीतले दबाएको महसुस हुन्छ, जसले कथाको प्रभावमा असर पार्न सक्छ। कलाकार खड्ग बहादुर पुन र प्रभात पालको कमेडी सिन सामान्य छन्, हाँस्यरस देखाउन राखिएको भएपनि मान्छेलाई हाँसो लाग्दैन, पुरानो फेसम जोक जस्तो।
लोकप्रिय गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा बनेको फिल्म ‘बसन्त’ले सामाजिक विषयलाई उठान गरेको छ, जुन आफैंमा चुनातीपूर्ण छ। किनभने अहिले कलाचेतले भरिएका, भारी संवाद भएका र चेतनाको भारी बोकेका फिल्महरु हलमा आएको र गएको पत्तो पाउन नसक्ने अवस्था छ। यस्तो अवस्थामा जात व्यबस्थाको कथा भन्ने फिल्म ‘बसन्त’ दर्शकलाई स्वीकार्य होला वा नहोला, त्यो भने चैत २२ नै कुर्नु पर्ने छ।
नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ।
सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाका छायांकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।