सांसदहरूको माग : दलितको घर भत्काइएको बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ-Sutra News

सांसदहरूको माग : दलितको घर भत्काइएको बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ

आइतबार, १० चैत्र २०८१

आइतबार, १० चैत्र २०८१
काठमाडौँ, १० चैतः सङ्घीय संसद भवनमा आइतबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरु । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।



सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे।

‘दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ’, उनले भने, ‘यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ। यो संविधान र कानुन विपरीतको काम हो।’

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताए। त्यस घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उनले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक कार्य भएको बताउँदै त्यस घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट