

काठमाडौं । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘कर्मा’ नायक विपिन कार्की र खलनायक मुकुन भुसालका लागि विशेष छ।
पहिलो पटक फिल्मको पर्दामा विपिन एक्सन अवतारमा देखिदैछन् भने मुकुन पहिलो पटक फिल्ममा खलनायकको भूमिकामा छन्। फिल्मी पर्दामा विपिन र मुकुन आमनेसामने देखिदैछन्। यसअघि उनीहरू दुवै पोजिटिभ क्यारेक्टरमा देखिँदै आएका थिए।
फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी पनि दर्शकका लागि विपिन र मुकुनको वार विशेष हुने बताउँछन्। सार्वजनिक टिजरमा विपिनको मात्र एक्सन देखाएको छ। तर, निर्देशक चौधरीले भने मुकुनको एक्सन ट्रेलरमा हेर्न पाइने बताए।
‘कर्मा’मा उपासना विपीन कार्कीको अपोजिटमा छिन्। विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ।
फिल्ममा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ।
‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ।
निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन फिल्म ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।
फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ। श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। बसन्त लम्साल यो फिल्मका निर्माता हुन्।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ। शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।