

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकताका लागि निर्णायक छलफल चलिरहेको छ । एकताका लागि मनोवैज्ञानिकरुपमा सहमत दुवै दलले पार्टीको नाम, चुनाव चिन्ह, वरीयतालगायतका विषय टुङ्ग्याउने तयारी गर्दै छन् । अहिलेसम्मको छलफललाई हेर्दा दुवै दलबिच छिट्टै पार्टी एकताको घोषणा हुनसक्ने सम्भावना प्रबल देखिन्छ ।
संघीय संसदमा ६ सांसद भएको जनमत पार्टीको मधेस प्रदेशसभामा १३ सांसद छन् । मधेस क्षेत्र केन्द्रित राजनीतिक शक्तिहरूलाई हेर्दा, जनमत अहिले मधेसको सबैभन्दा ठूलो शक्ति हो । मधेस सरकारको नेतृत्वमा समेत रहेको जनमतले मधेसका प्रत्येक मुद्दामा बलियो प्रभाव राखेको पाइन्छ ।
यता संघमा ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी विशेषगरी सुदूरपश्चिम प्रदेशको प्रभावशाली पार्टी हो । जहाँ उसका ७ सांसद छन् । सुदूरपश्चिमसँगै उन्मुक्तिको लुम्बिनी प्रदेशसभामा पनि ४ सांसद छन् ।
जनमत र नागरिक उन्मुक्तिबिच एकताको छलफल चलिरहँदा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि एकताको लागि छलफलमा जुटेको छ । उसले दुई दलबिचको एकतालाई स्वागत गर्दै आफू पनि सहभागी हुने सन्देश पठाएको छ । जुन छलफलले मूर्तरूप लिएमा नयाँ बन्ने दल करिब राष्ट्रिय प्रकृतिको बलियो दल बन्ने देखिन्छ । जहाँ राष्ट्रिय मुद्दामा बलियो प्रभाव राख्ने नेताहरूसमेत रहनेछन् ।
जनमत र नागरिक उन्मुक्तिबिचको एकताको यो प्रयासलाई सुखद मान्नुपर्छ । यसले अन्य दलहरूलाई पनि राम्रो सन्देश दिएको छ ।
राजसंस्थावादीहरुले व्यवस्था बदल्ने आन्दोलनलाई अगाडि बढाइँदा यतिबेला राजनीति निकै धुव्रीकृत छ । राजसंस्थासँगै, हिन्दु राष्ट्र, संघीयतालगायत एजेन्डाका आधारमा दलहरू धुव्रीकृत भइरहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र धर्म र राजसंस्थाको विषयले प्रवेश पाएको छ भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत गणतन्त्रको पक्षमा एकाकार हुँदै छन् । सँगै, दलहरूबिच वामपन्थ र दक्षिण पन्थको आधारमा पनि धुव्रीकरण सुरु भएको छ ।
आवरणमा देखिएका घटनाहरूले एकातिर ठूला मानिएका दलहरूलाई पनि बाध्यकारीरुपमा एजेन्डागत धुव्रीकृत हुने अवस्था बनाएको छ अर्कोतिर साना दलहरूलाई पनि एक ठाउँमा जुट्ने अवस्था बनाइदिएको छ । यो परिस्थितिले राजनीतिमा देखिएको किचलोलाई पनि सन्तुलनमा ल्याउने सम्भावनालाई बढाएको मान्न सकिन्छ ।
हाम्रो जस्तो सानो मुलुकलाई धेरै दल चाहिएको छैन । खुद्रे दलको कारण जनता पनि निकै अलमलमा छन् । यस्तो अवस्थामा एजेन्डागतरुपमा दलहरू एकाकार भएमा त्यसले राजनीतिलाई सन्तुलनमा लैजान सहयोग गर्दछ । त्यसले खोजिएको स्थिरता पनि कायम गर्न सहयोग पुग्दछ । अहिलेको आवश्यकता, राजावादी–राजावादी एक हुनु, वामपन्थी–वामपन्थी एक हुनु, दक्षिणपन्थी–दक्षिणपन्थी एक हुनु हो । साना र खुद्रे पसल बन्द हुनु मुलुकका लागि निकै सुखद हुनेछ ।
जनमत र नागरिक उन्मुक्तिलाई शुभकामना !