

काठमाडौं । सामान्यतय क्षयरोग भन्ने बित्तिकै हामिले कुनै एउटा ठूलै रोग भन्ने बुझ्छौ । हामिलाई लाग्न सक्छ हामिले खोक्दा वा हाच्छिउँ गर्दा खकारमा रगत देखा पर्यो भने पक्कै क्षयरोग लागेको हुनुपर्छ । तर हामि सचेत रहन आवश्यक छ, खकारमा रगत देखिदा मात्र क्षयरोग लागेको र नदेखिदा नलागेको भन्ने हुदैन । यसका कतिपए यस्ता लक्षणहरु पनि छन् जसको बारेमा हामिले खासै ख्याल गदैनौँ या सामान्य त हो नि भनेर छाडिदिन्छौ ।
क्षयरोग दुई प्रकारको हुने गर्दछ :
१. फोक्सोमा लाग्ने क्षयरोग
२. फोक्सो भन्दा वाहिर लाग्ने क्षयरोग
सबै क्षयरोग लागेका बिरामिले खोक्दा, हाच्छिउँ गर्दा खकारमा किटाणु देखा पर्दैनन् । यसको अर्थ उ रोगी नभएको भने होइन। यो विशेष गरि फोक्सोमा लाग्ने क्षयरोगमा यस्तो हुन्छ । फोक्सोमा लाग्ने क्षयरोगमा बिरामिको खकारमा किटाणु देखापर्ने, खकारमा किटाणु देखा नपर्ने दुवै हुन्छ ।
के हो त क्षयरोग ?
क्षयरोग माइकोब्याक्टीरीयम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने एक प्रकारको रोग हो। यो रोग माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लागेको पाइन्छ। यो रोगलाई मानिसले यस कारण पनि जटिल मान्ने गर्दछन् । यसले साधारणतया फोक्सोमा आक्रमण गर्छ, सँगसँगै यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ।
यो सरुवा रोग भएको कारण पनि मानिसहरुमा भय सृजना हुने गरेको पाइन्छ । यो रोग छिट्टै तथा सजिलैसंग फैलने रोग मात्र नभई एउटा प्राण घातक रोग पनि हो । तर नियमित औषधी सेवन तथा उपचार गरेमा यो रोग निको हुन सक्छ ।
यस्तो छ क्षयरोगका लक्षणहरु :
-दुइ हप्ता भन्दा बढीसम्म निरन्तर खोकी लाग्ने,
-बेलुकी पख हल्का ज्वरो आउने,
-खकारमा रगत देखा पर्नु,
-खानामा रुचि घट्दै जानु,
-छाती दुख्ने,
-फोक्सो बाहेक अन्य भागमा भए उक्त ठाउमा छुदा दुख्ने र सुनीनु,
-राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु,
फोक्सो बाहेक अन्य भागमा भए उल्लेखित लक्षणहरुका साथै सम्वन्धित प्रणाली वा अंगका लक्षणहरु समेत देखा पर्न सक्छन । जस्तै पेटको क्षयरोग भएमा पेट फुल्ने, अपच हुने र कब्जीयत तथा पखाला लाग्ने लक्षण देखा पर्नेछन् ।
कसरी सर्छ क्षयरोग ?
यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ। नेपालको सन्दर्भमा गरिबी, कुपोषण र एचआइभीको समेत ठुलो चुनौतीको रुपमा रहेको छ। यस्ता रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा यो रोग छिटो लाग्न सक्ने संभावना देखिन्छ ।
रोकथामका उपाय :
यो रोग लागेको लक्षण देखा पर्ने बित्तिकै रोगको पहिचान गरी रोकथाम तथा बचाउको उपाए खोज्नु पर्दछ । जसका लागी छिटो पहिचान तथा उपचार, शङ्कास्पद स्थानमा परीक्षण कार्यक्रमको सञ्चालन र क्षयरोगको विरुद्धमा दिइने बिसीजी खोप लगाउने जस्ता कुरामा भर पर्दछ।
नेपालमा क्षयरोगको इतिहास र अवस्था :
नेपाल सरकारले झन्डै छ दशक अगाडि क्षयरोग नियन्त्रण कार्यक्रम सुरु गरेको थियो। १९३७ मा काठमाडौंको टोखा सेनेटोरियमु स्थापना कार्यक्रम भएको थियो।
१९५१ मा केन्द्रीय छाती क्लिनिक (CCC)अस्तित्वमा आएसँगै घरेलु आधारमा क्षयरोगका बिरामीहरूको निदान र उपचार सेवा उपलब्ध थियो। त्यस्तै, १९६५ मा नेपाल सरकार,(WHO) र (UNICEAF) बिच त्रिपक्षीय सम्झौतामा क्षयरोग नियन्त्रण कार्यक्रम व्यवस्थित रूपमा व्यवस्थित गरिएको थियो।
नेपालको इतिहासमा क्षयरोग नियन्त्रणका लागी लामो प्रयासहरूको भएको देखिन्छ । नेपालमा राष्ट्रिय क्षयरोग कार्यक्रम (NTP)१९६५ मा सुरु भएको थियो र राष्ट्रिय क्षयरोग केन्द्र १९८९ मा स्थापना भएको थियो, यद्यपि क्षयरोग अझै पनि एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा रहेको छ।
हालको अवस्थाः
नेपालले उल्लेखनीय क्षयरोग समस्याको सामना गरिरहेको छ, जहाँ प्रतिवर्ष अनुमानित १७ हजारको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालले २०२५/२६ सम्ममा प्रति एक लाख जनसङ्ख्यामा क्षयरोग मृत्युदर २३ मा झार्ने लक्ष्य राखेको छ, जुन २०२०/२१ मा ५८ थियो। नेपालले २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ। हालसम्म क्षयरोगका कारण कुनै पनि प्रभावित परिवारले विनाशकारी लागतको सामना गर्नुपरेको भने देखिँदैन।