

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो आग्रह गरेका हुन्।
‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ उनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’
बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउनसमेत आग्रह गरेका छन्।
‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’ उनले प्रश्न गरेका छन्।
यसअघि एमाले अधक्ष्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पटक-पटक खनिंदै आएका बालेन यसपटक भने उपप्रधानमन्त्री सिंहमाथि खनिए। बालेनले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरण, महानगरका विभिन्न सडक छेउछाउमा फुटपाथ हटाउने विवाद, काठमाडौंका विभिन्न नदि छेउछाउ संरचना बनाउने विषयको विवाद, महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारले गरेको आनाकानीलगायतका विषयमा ओलीमाथि सामाजिक संजालबाट पटक-पटक प्रश्न गर्दै आएका चाहन।