

काठमाडौं । एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नेतृत्वका लागि निर्वाचन माग गर्दै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन सुरु गरेका छन्।
आजबाट विराटनगरमा सुरु भएको १०औं राष्ट्रिय महाधिवेशन परिसरमा प्रतिनिधिले नयाँ नेतृत्वका लागि निर्वाचन माग्दै हस्ताक्षर अभियान सुरु गरेका हुन्।
प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। अर्का उपाध्यक्ष राजेश राई पनि अध्यक्षको दाबेदार हुन्। दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन्।
एमाले अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको नेताहरु बताउँछन्।
केन्द्रको निर्देशन चौतारीमा लाद्न खोजेको भन्दै प्रतिनिधिहरुले हस्ताक्षर अभियान संकलन गर्दै प्रतिनिधिहरुले निर्वाचन मार्फत नेतृत्व छान्न पाउनु पर्ने माग राखेका छन्।
‘निर्वाचनका लागि हामीले हस्ताक्षर अभियान सुरु गरेका छौं, प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ, २०७३ सालदेखि निर्वाचन भएको छैन,ताप्लेजुङबाट सहभागी प्रतिनिधि राजेन्द्र श्रेष्ठले भने, ‘चुनाव मार्फत नेतृत्व चयन गर्नुपर्छ भनेर हस्ताक्षर अभियान सुरु गरेका छौं।’