

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षक नेताको बैठक सोमबार बस्ने तय भएको छ।
सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो। बैठकम संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ।
हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड सोही छलफलका लागि सोमबार काठमाडौं आउने छन्। सोहीअनुसार बैठकको समय तय भएको हो। यसअघि प्रचण्ड आजै आउने भनिएको थियो।
चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।
ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।
यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए।