

काठमाडौं । देशमा संविधान जारी भए लगत्तै ९ असोज २०७२ मा डा. बाबुराम भट्टराईले गरेको निर्णय अनौठो प्रकृतिको थियो । उनले संविधान सभा सदस्यबाट राजीनामा मात्रै दिएका थिएनन्, दसकौँ राजनीति गरेको माओवादी पार्टीसमेत परित्याग गरेका थिए ।
सँगै, उनले आफ्नै नेतृत्वमा बनेको संविधानलाई ‘अपूर्ण’ भन्दै अभिव्यक्ति पनि दिएका थिए ।
माओवादी छाडेकाे एक दशकमा भट्टराईले अनेकन प्रयोग गरे । योबिचमा उनले थुप्रै पार्टी फेरे र गठबन्धन फेरे ।
उमेरकाे उत्तरार्धमा समेत पुगेका भट्टराई फेरि यतिबेला नयाँ प्रयाेगमा देखिएका छन् । यतिबेला सिके राउत नेतृत्वको मधेसवादी दल जनमत पार्टी र रञ्जिता श्रेष्ठ र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकताको छलफल चलिरहेकाे छ । जहाँ भट्टराई पनि एकता गर्ने गरी छलफलमा जुटेका छन् ।
पछिल्लो छलफलमा सहमति जुटेमा भट्टराई सिके र रञ्जिता तथा रेशमको पार्टीसँग जोडिन पुग्ने देखिन्छ ।
उनको यो प्रयोगलाई लिएर कतिपयले मजाक उडाएका छन् भने कतिपयले सहानुभूतिसहित आलोचना गरेका छन् । यद्यपि, नयाँ–नयाँ प्रयोगमा रमाउने भट्टराईको यो प्रयोग कस्तो होला, आममा कौतुहलता पनि देखिन्छ ।
भट्टराईकाे अनाैठाे उतारचढाव
भट्टराईले माओवादी छाडेको ८ महिनापछि ३० जेठ २०७३ मा नयाँ शक्ति नामक पार्टीको घोषणा गरेका थिए । यद्यपि, उनको नयाँ शक्ति पार्टी लामो समय कायम रहेन ।
नयाँ शक्ति अभियान असफल देखिएपछि उनी फेरि पुरानै पार्टीतर्फ फर्किने प्रयासमा जुटे । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच पार्टी एकताको छलफल हुँदै गर्दा भट्टराई पनि सहभागी हुने तयारीमा थिए । अन्तिमसम्म छलफलमा जुटेका भट्टराई पदीय विषयमा कुरा नमिलेपछि बाहिरिए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनमा नअटेका भट्टराई त्यसको केही समयमै २३ वैशाख २०७६ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा विलय भए । यादव नेतृत्वको उक्त पार्टीमा उनी संघीय परिषद् अध्यक्ष बनेका थिए ।
भट्टराई भित्रिएको एक वर्षमै फेरि अर्को मधेसवादी समूह (महन्थ ठाकुर नेतृत्वको राजपा)सँग समाजवादीको एकता भयो । जसपश्चात् पार्टीको नाममा जनता समाजवादी पार्टी बनाइएको थियो भने जसको कार्यकारिणी अध्यक्षमा यादव र ठाकुर भएका थिए । भट्टराई भने परिषद् अध्यक्ष बनेका थिए ।
तर, पार्टी एकताको छोटो समयमै जसपाभित्र विभाजनको हुण्डरी चल्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै जसपा पार्टी पनि विभाजित बन्यो ।
ठाकुर पक्षले ओलीलाई समर्थन गर्दा यादव पक्ष विरोधमा उत्रियो । जससँगै विभाजित ठाकुर समूहले २०७८ भदौ ९ मा बेग्लै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीको मान्यता पाएको थियो ।
पार्टी विभाजनको छोटो समयमै भट्टराई पनि जसपाबाट बाहिरिए । उनी २०७९ असारमा विधिवतरुपमा जसपाबाट निस्किएका थिए ।
जसपाबाट बाहिरिएको छोटो समयमै भट्टराईले २०७९ साउनमा स्वयं आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरे ।
यद्यपि, बेग्लै पार्टी गठन गरेका भट्टराई लगत्तै माओवादी केन्द्रसँग एकताको लागि छलफलमा जुटे । पार्टी गठन गरेको एक महिनामै माओवादीसँग कार्यगत एकताको घोषणा गर्दै भट्टराई चुनावी तालमेलको निर्णयमा पुगेका थिए ।
सोही निर्णयअनुसार २०७९ को चुनावमा नेसपाले माओवादीको चुनाव चिन्हबाट उम्मेदवारी दिएको थियो । भट्टराई स्वयंले आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि खाली गरेका थिए ।
तर, निर्वाचनपछि भने उनी पुनः माओवादीबाट टाढिए । निर्वाचन परिणामबाट असन्तुष्ट भट्टराईले ‘माओवादी धोका भएको’ बताएका थिए । जससँगै उनी माओवादीबाट क्रमशः टाढिन पुगे ।
यद्यपि, माओवादीसँग एकता र सम्बन्ध विच्छेदको निर्णयले नै नेसपा भने फुट्यो । माओवादीसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुँदा भट्टराई र महेन्द्रराय यादव छुट्टिए । २०८० चैतमा दुई समूह सहमतिमै अलग–अलग भएका थिए ।
यादव नेतृत्वको समूह माओवादी केन्द्रसँग एकताको तरखरमा छ भने भट्टराईले नेसपालाई पुनर्गठन गरेका छन् । तर, पुनर्गठन गरेको छोटो समयमै भट्टराई भने फेरि अर्को नयाँ प्रयोगमा देखिएका छन् ।