

मुम्बई । करिब १५ वर्षअगाडि भारतमा एक साधारण पृष्ठभूमिका र्यापर हिपहप संगीतमा प्रवेश गरे। त्यसपछि यसलाई पूर्ण रूपमा आफ्नै रङमा रंगाइदिए।
उनका गीत विवाह र क्लबहरूमा धेरै बजाइन्थ्यो। उनका गीत सडकछेउको चिया पसलदेखि ठूला पार्टीहरूसम्म ठूलठूलो आवाजमा घन्काइन्थ्यो। ती गीतले स्रोतालाई मनको शान्ति दिनुका साथै उनीहरूलाई मन्त्रमुग्ध बनाउँथे।
तर, आफ्नो करिअरको शिखरमा हुँदा उनी अचानक गायब भए। सात वर्षपछि ‘यो यो हनी सिंह’ संगीतको संसारमा फर्किएका छन्। र, एक नयाँ एल्बमका साथ सांगीतिक टुर गर्दै छन्।
लागुऔषधको लतसँग जुध्दै र मानसिक स्वास्थ्यसँग संघर्ष गर्दै गर्दा उनी हाल आफूलाई परिवर्तन गर्ने जिकिर गरिरहेका छन्।
श्रीमतीले लगाइन् घरेलु हिंसाको आरोप
नेटफ्लिक्सको डकुमेन्ट्री ‘यो यो हनी सिंह : फेमस’मा पत्रकार भानुज कप्पलले ४१ वर्षीय गायक तथा निर्माता कुनै समय भारतका सबैभन्दा ठूला संगीत स्टारमध्ये एक रहेको बताएका छन्। एक व्यक्ति जसले ‘हिपहप संगीतको सांस्कृतिक प्रभावलाई अझ बढावा दिए,’ उनले भनेका छन्।
उनी जति चर्चित थिए, त्यति नै विवादास्पद पनि। हनी सिंह आफैँ आफू एक ‘आक्रामक र लापरवाह व्यक्ति’ भएको स्वीकार गर्छन्। निरन्तर आफ्नो संगीतका माध्यमबाट अश्लीलता, व्यभिचार र हिंसालाई बढावा दिएको उनीमाथि आरोप लगाइएको थियो।
केहीले उनका गीतको आलोचना गर्दै महिलामाथि हुने हिंसा र बलात्कारलाई चित्रण गरिएको बताएका छन्।
मिडियामा उनको छवि थप धूमिल भयो, जब प्रेमिका र पूर्वपत्नीले घरेलु हिंसाको आरोप लगाउँदै सम्बन्धविच्छेदको मुद्दा दायर गरे। सिंहले भने उक्त आरोपको खण्डन गरे।
अब हिटमेकर रहेनन्
सात वर्षपछि अब यी गायक हिटमेकर रहेनन्, जबकि कुनै समय आफ्ना उत्तेजक गीतहरूका साथ संगीत उद्योगमा राज गर्थे।
पछिल्लो सात वर्षमा संगीतको दुनियाँमा धेरै परिवर्तन भयो। भारतीय हिपहपमा पनि परिवर्तन आएको छ। कुनै समय हनी सिंहको आवाजबाट प्रभावित कलाकारले हाल उनलाई उछिनेका छन्।
‘यो यो हनी सिंह’को स्टाइल पनि परिवर्तन भएको छ। कुनै समय ‘ब्रह्माण्डका सर्वज्ञ गुरु’का रूपमा वर्णन गरिएका हनी सिंह हाल आफूलाई ईश्वरसँग डराउने व्यक्तिका रूपमा चिनाउँछन्। उनी हाल ईश्वरमा विश्वास गर्ने, जीवनको उतारचढावमा विश्वास गर्ने र ‘वैज्ञानिक ज्योतिषी’मा विश्वास गर्ने बताउँछन्।
उनी आफ्नो संगीत शान्त र भद्र रहेको जिकिर गर्छन्। यो ‘ड्रग्स’भन्दा गहिरो भएको उनको भनाइ छ।
तर, उनका फ्यानको फरक मत छ। उनीहरू हनी सिंह अब पहिलाको जस्तो नरहेको बताउँछन्। उनले आफ्नो धरातल गुमाइसके। उनका नयाँ गीतमा कुनै दम छैन।
कप्पल भन्छन्, ‘उनका यस्ता डाइहार्ट स्रोता/दर्शक छन्, जो सधैँ उनीसँग रहनेछन्। तर, उनीहरूको दृष्टिकोण पुरानो र प्रचलित फेसनभन्दा बाहिर छ।’
सिंह हार मान्न तयार छैनन्
हनी सिंह अझै हार मान्न तयार छैनन्।
हनी सिंह न त लुकिरहेका छन् न त लागुपदार्थको लतका साथ आफ्नो संघर्षको रक्षा गरिरहेका छन्। बरु, उनले यसलाई आफ्नो पुनरागमनको केन्द्रविन्दु बनाएका छन्।
उनी खुलेआम लागुपदार्थको लत र त्यसपछि आफूले मानसिक स्वास्थ्यको सामना गर्नुपरेको बताउँछन्। ‘लागुपदार्थले मलाई पूरै तहसनहस बनायो’, उनले एक डिजिटल न्युज प्लेटफर्मसँग भने, ‘मैले प्रसिद्धि, पैसा र महिलाका लागि आफैँलाई बर्बाद गरेँ। म शैतानजस्तै थिएँ, पूर्ण शैतान।’
एक अन्तरक्रियामा उनी रमाइलो र शान्त देखिन्छन्। उनी पीडित थिए, तर हाल प्रस्टसँग सबै कुरा भनिरहेका छन्। उनले आफ्नो भित्री कमजोरीसँग जुध्दै अब वास्तविकता थाहा पाएका छन्।
उनले केही समयअगाडि मात्र भनेका थिए, ‘तपाईं जे गर्नुहुन्छ, त्यसकै परिणाम पाउनुहुन्छ। म फसेको ठाउँबाट बाहिर निस्कन मलाई समय लाग्यो। तर, अहिले म फर्केको छु।’
हृदेश सिंहदेखि यो यो हनी सिंहसम्मको सफर
यो यो हनी सिंहको नाम हृदेश सिंह हो। उनको जन्म पञ्जाबमा भएको थियो। उनी दिल्लीको सानो गाउँमा हुर्केका थिए। त्यहीँबाट उनले आफ्नो संगीतलाई आकार दिए। सुरुका वर्षहरू कठिन थिए, यसको एक अंश अझै उनको काममा देख्न सकिन्छ।
‘यो बस्ती मेरो घर थियो, मेरो इलाका थियो र सधैँ त्यहाँ रहनेछ’, उनी प्रायः आफ्नो कुराकानीका क्रममा सुनाउँछन्।
संगीतमा करिअर खोज्ने विषयमा उनी सुरुमै स्पष्ट थिए। कलेज डीजेका रूपमा करिअर सुरु गरेका उनी त्यसपछि पूर्णतः संगीत सिर्जनामा लागे। उनी भन्छन्, ‘म गीत गाउन वा लेख्न चाहन्नथेँ, म सधैँ बिट्स र संगीतमा काम गर्न चाहन्थेँ।’
पञ्जाबमा केही वर्ष सानोतिनो निर्माताका रूपमा काम गरेपछि उनले महसुस गरे, यो पर्याप्त छैन। उनी भन्छन्, ‘मेरो आवाज त्यस ठाउँका लागि धेरै सहरी थियो। त्यहाँका मानिसले यसलाई बुझ्न सकेनन्। यसका लागि मैले पञ्जाबबाट बाहिर जानुपर्यो।’
२०११ मा पहिलो ‘ब्रेकआउट’
हनी सिंहले सन् २०११ मा आफ्नो एकल ‘ब्रेकआउट’ एल्बम ‘द इन्टरनेसनल भिलेजर’ सार्वजनिक गरे। उनले हिपहपका साथ पञ्जाबी ड्रम र स्ट्रिङ धुन मिसाएर केही नयाँ सिर्जना गरे। त्यो बिलकुल फरक थियो।
सुरुका तीन महिनामा यो सूत्र असफल भयो। त्यसपछि अचानक सबै कुरा परिवर्तन भयो। रातारात यी गीत ‘भाइरल’ भए। संगीतको चार्टमा शीर्ष स्थानमा रहे। अवार्ड जिते। उनले ठूलो फड्को मारे। हनी सिंहले बलिउडमा स्थान पाए।
ब्राउन रङ – एक सामान्य मानिसको विश्वव्यापी महत्त्वाकांक्षाका बारेमा लेखिएको यो गीत सन् २०१२ मा युट्युबको सबैभन्दा धेरै हेरिएको भिडियो बन्यो। दुबईमा १० लाख अमेरिकी डलरको बजेटमा फास्ट कार, त्यस्तै लुगा, रत्नजडित घडी र शक्तिशाली बिट्सका साथ सुनको चेनमा छायांकन गरिएको यो गीतले भारतीयलाई हिपहपको चमकसँग परिचित गरायो।
महिलाविरोधी गीतको चर्को आलोचनाबीच सिंहका कन्सर्टमा रंगशाला भरिभराउ हुन्थे। एकपछि अर्को हिट गीत दिए। उनले शाहरुख खान र अक्षय कुमारजस्ता बलिउड स्टारका निम्ति पनि गीत गाए।
एक डिजिटल प्लेटफर्मलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘कहिलेकाहीँ मेरा गीतका शब्दहरू बेकार हुन्थे। मलाई पनि यो थाहा थियो। तर, मानिसले अझै पनि यसलाई सुन्थे, किनकि संगीत राम्रो र फरक थियो।’
प्रसिद्धिसँगै पतन
हनी सिंहको प्रसिद्धिसँगै पतन पनि भयो। ‘म रक्सीमा डुबेँ। रक्सी खाएर १२ देखि १५ वटा जोइन्ट पिउँथेँ। मैले आफ्नो परिवारलाई छोडेँ,’ उनले भनेका छन्, ‘मैले आफ्नो नियन्त्रण गुमाएँ। एकपटक त म यति नशामा थिएँ कि मैले एकजना साथीको पेटमा आठ चोटि काटिदिएँ।’
सिंहले सन् २०१७ मा ‘ब्रेकअप’ गरे। संगीत र लागुपदार्थको दुर्व्यसन त्यागेर उनी दिल्ली फर्किएका थिए। यहाँ उनले चिकित्सकको निगरानीमा आफ्नो उपचार गराउन थाले।
उनले आफ्नो परिवारलाई आफू मानसिक रूपमा अस्वस्थ रहेको बताएका थिए। ‘जबसम्म म निको हुँदिनँ, तबसम्म म केही गर्न सक्दिनँ भनेको थिएँ,’ उनले भने ।
सात वर्षदेखि आफूले रक्सी पिउन छोडेको भन्दै उनी कहिलेकाहीँ बियर मात्र पिउने गरेको दाबी गर्छन्।
नेटफ्लिक्सको डकुमेन्ट्री ‘यो यो हनी सिंह : फेमस’मा उनले भनेका छन्, ‘म नर्कमा गएर अहिले फर्किएको छु। अहिले पनि औषधिका कारण बिहान उठ्दा अस्पष्ट महसुस हुन्छ।’
इमानदारिताका निम्ति फिदा प्रशंसक
हनी सिंहका फ्यान उनको इमानदारिताबाट खुसी छन्। आत्मघाती प्रवृत्तिलाई नियन्त्रण गर्न उनले गरेको प्रयासको प्रशंसक कदर गर्छन्।
दिल्लीकी एक छात्रा नन्दिनी गुप्ता भन्छिन्,। कोही पनि परिपूर्ण हुँदैन। तर, कमसेकम सिंह राम्रो हुने कोसिस गरिरहेका छन्। उनले केही समयका निम्ति संगीत उद्योग छोडेका हुन सक्छन्, तर उनको संगीत रोकिएको छैन।’
अरूले यो परिवर्तनलाई ढोँगका रूपमा लिन्छन्। बुशरा नेयाजी भन्छिन्, ‘उनको संगीत अलि कमजोर छ। उनको संगीतले महिलालाई वस्तुका रूपमा हेर्छन्। केवल पैसा र प्रसिद्धिका बारेमा कुरा गर्छन्।’
तर, हनी सिंहको पुनरागमन उनका स्रोता/दर्शकका निम्ति एक चुनौती हो, जसले समस्याग्रस्त अतीतलाई स्वीकार गर्न र मौका दिन उत्प्रेरित गर्छ।
हनी सिंह आफू फर्किसकेको बताउँछन्। ‘म सात वर्षका निम्ति टाढा थिएँ। तर, अर्को सात वर्षमा म फेरि सबैलाई मन्त्रमुग्ध पार्नेछु, उनी अगाडि थप्छन्, म फर्केको छु। र, म त्यही प्रेम चाहन्छु, जुन मैले सात वर्षअघि पाएको थिएँ।’ -बीबीसी हिन्दी