‘कांग्रेस-माओवादी सरकार भएको बेला प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन एमाले प्रस्ताव गरिरहन्थ्यो’-Sutra News

‘कांग्रेस-माओवादी सरकार भएको बेला प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन एमाले प्रस्ताव गरिरहन्थ्यो’

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री बनाएको बेलामा एमालेले हटाउन चाहेको खुलासा गरेका छन्।



सुनसरीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसबेला एमालेले प्रचण्डलाई हटाएर बाँकी कार्यकाल पूरा दिनेगरी प्रधानमन्त्री अफर गर्दा पनि आफूहरूले अस्वीकार गरेको बताए।

महामन्त्री थापाले पार्टीको कार्यक्रममा बोल्दै माओवादीसँग सहकार्य हुँदा एमालेले प्रधानमन्त्री बनाउँछु भन्दा पनि विकल्प खोज्न नगएको जिकिर गरे।

उनले भने, ‘कांग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा एमालेको तर्फबाट कांग्रेसलाई पटक–पटक प्रस्ताव गरिएको थियो, यो सरकार छाड्दिनुस्, कांग्रेस नेता प्रधानमन्त्री बन्नुस्, बाँकी रहेको तीनचार कति वर्ष हुन्छ, कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव निरन्तर आइरह्यो, तर कांग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन।’

उनले कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले काँध फेर्छु भनेर एमालेसँग नगएको भए अहिलेसम्म प्रचण्ड नै प्रधानमन्त्री भइरहेको हुने पनि बताए।

महामन्त्री थापाले शीर्ष तहमा भएको राजनीतिक सहमति इमानदारीपूर्वक कार्यान्वयन नहुँदा राजनीतिक अस्थिरता बढेको बताए।

उनले थपे, ‘राजनीतिक दलहरुबीच बन्द कोठामा हुने समझदारी चाहिँ हस्ताक्षर गर्ने, तर कार्यान्वयन गर्ने विषयमा चाहिँ इमानदार नहुने, बेइमानी गर्ने चरित्र बनिरहेको बेलामा कांग्रेस र पार्टी नेतृत्वले हामी माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धनमा भएकाले विकल्प सोच्दैनौं भनेर बस्यौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार