

प्रचण्डकै कारण शीर्ष नेताहरूको बैठकमा राजावादीको गतिविधिबारे छलफल भएन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अधक्ष्य केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूबीच छलफल सम्पन्न भयो।
तीन दलका शीर्ष नेताहरूको बैठकले सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने निर्णय गरेको छ।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ती सर्च कमिटी बनेको थियो। सिफारिस समितिले प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदन पनि राखियो। दलहरूकाबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने।
उनले बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति सर्च कमिटी अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका अध्यक्षसँग परामर्श गरेको जानकारी दिए। उनका अनुसार परामर्श अनुसार समिति निर्माण प्रक्रिया अघि छ।
तथापि लामो समयपछि शीर्ष तीन नेताहरू छलफलमा बस्ने भएपछी पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूले गरिरहेका गतिविधिका बारेमा छलफल हुने आंकलन गरेका थिए। त्यसअघि पूर्वराजा शाहको विषयमा छलफल गर्न तीन नेताहरू बस्ने तयारी गरिरहेको समाचारहरू समेत बाहिरिएका थिए।
तर, आजको बैठकमा त्यसो भएन। ओली र देउवालाई भेट्नुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सिंहदरवार पुगेका प्रचण्डकै कारण बैठकमा राजावादीको आन्दोलनको विषयमा छलफल नभएको बताइन्छ।
बैठकमा प्रचण्डले सिधै विषयमा प्रवेश गरौं भनेपछि नेताहरुबीच अन्य राजनीतिक विषयमा छलफल नभएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा संक्रमणकालीन न्याय तथा मानवअधिकार मामिला सम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए।
तीन दलका शीर्ष नेताको बैठकको जे एजेण्डा हो त्यसबाहेक अन्य विषयमा चर्चा नै नभएको उनको दाबी छ। खरेलले राजावादीहरुका विषयलाई महत्व दिनु आवश्यक नरहेको र त्यस्ता विषयमा तीन दलको बैठक नबस्ने भन्दै आजको बैठकमा पनि पछिल्ला राजावादी गतिविधिबारे एक शब्द पनि चर्चा नभएको बताए।
खरेलले भने, ‘बाहिर मान्छेले अनुमान के के लगाए थाहा छैन। तर आजको बैठकमा टिआरसीको विषयबाहेक अरु कुरै भएन। जहाँसम्म राजावादी वा पूर्व राजाको कुरा छ, यस्ता विषयमा छलफल गर्न तीन दलका नेता गोप्य बैठक बस्नु पर्दैन, आवश्यकता परे टुँडिखेलबाटै कुरा हुन्छ।’
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि सोमवारको शीर्ष बैठकमा संक्रमणकालीन न्याय निरुपणको विषयमात्र छलफल भएको बताए। उनले अरु राजनीतिक विषयमा पछि छलफल गर्दै जाने भन्नेबाहेक अरु कुरा नभएको सुनाए।
छलफलमा अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए।
विपक्षी चार दल मिलेर बनेको समाजवादी मोर्चाले चैत १५ गते पूर्वराजा शाहको सक्रियताविरुद्ध काठमाडौँमा वृहत प्रदर्शन गर्दैछ। त्यसैदिन पूर्वराजाको पक्षमा प्रदर्शन गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेका छन्।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी छन्। सरकारको नेतृत्व गरेको नेकपा एमालेले पनि पूर्वराजाको सक्रियताविरुद्ध तीनमहिने आन्दोलन घोषणा गरिसकेको छ। तर, अर्को सत्तारुढ दल कांग्रेस भने गणतन्त्रको पक्षमा आन्दोलन गर्नेबारे मौन छ। त्यसैले पनि ओली, देउवा र प्रचण्डबीच पूर्वराजा शाहको गतिविधिका बारेमा छलफल हुने आंकलन गरिंदै आएको छ।