

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरपालिका–२८ मा निर्माणाधीन काठमाडौं टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक बालेनले यस्तो बताएका हुन् ।
“यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?”, सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन् ।
बालेनले आफूले ल्याएका तथ्यहरु गलत भए आफूलाई जेल हाल्न पनि सरकारलाई चुनौति दिएका छन् ।
मेयर साहको यो भनाई काठमाडौं टावर परियोजनासँग जोडिएको घटनाप्रति लक्षित छ । जुन विवादमा मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध कारबाहीको डण्डा चलाएका थिए ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न छानविन समिति नै बनाएका थिए । जुन समितिकाे प्रतिवेदनकाे आधारमा मेयर साहले गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएका थिए ।
जसमा सरकार भने उनै गुरागाइँलाई स्थापित गराउने पक्षमा छ । जसका कारण महानगरले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत पाएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरभित्र थुप्रै प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएका छन् । तीन महिनादेखि कर्मचारीहरुले समेत तलब पाउन सकेका छैनन् ।
साेही घटनालाई जाेड्दै मेयर साहले सोमबार मात्रै काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै तत्काल उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका थिए। एक हप्ताभित्र तलब उपलब्ध नगराए सबैलाई टुकुचामा गाडिदिने उनले चुनौती समेत दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन। सरकारको दम्भले! कोले के के आन्दोलन गर्ने हो,मलाई थाह छैन ,अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?’