

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजारमा उच्च अंकको पहिरो गएको छ । मंगलबार ५८.०५ अंकले घट्दै बजार २५८२.७३ को बिन्दुमा ओर्लिएको छ । मंगलबार समग्रमा २.१९ प्रतिशतले बजार घट्यो ।
भारी अंकको गिरावट हुँदै गर्दा सबैजसो समूहको सूचक राताम्मे बने । सबैभन्दा बढी विकास बैंक, फाइनान्स र हाइड्रोको सूचक ३ प्रतिशतभन्दा बढीले घट्यो ।
कारोबारमा आएका २४० कम्पनीको मूल्य घट्दा जम्मा ४ कम्पनीको मूल्य बढ्यो ।
भारी गिरावटका बिच सेयर बजारमा कारोबार रकम भने केहीले बढेको छ । बिक्रीकर्ता हाबी हुँदा बजारमा कारोबार रकम ५ अर्ब १८ करोड रुपैयाँमाथिको भयो । जुन अघिल्लो दिनको तुलनामा बढी हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । जुन निर्णयसँगै सिर्जित परिस्थितिबाट लगानीकर्ता निराश बनेका छन् । मंगलबारको भारी गिरावट कुलमानको बर्खास्तीले बनाएको अन्योलताको कारण भएको देखिन्छ ।
नाेट : तथ्यांकमा अन्यथा भएकोमा सच्याइएको छ । सं.