कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ-Sutra News

कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय दिएको बताएका छन्।



साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याय नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए।

‘धेरै काम गर्नुपर्नेछ। भर्खरै नियुक्त भएको छु। मेरो पहिलेदेखिको धेरै योजना छ। सिस्टमलाई रिलायबल बनाउन र आत्मनिर्भर हुन पम्प स्टोरेज प्रोजेक्ट चाहिन्छ,’ उनले भने, ‘प्राधिकरणले पम्प स्टोरेज प्रोजेक्टमा पनि काम गर्छ।’

उनले अहिलेको समस्यालाई ध्यानमा राखेर योजनाबद्ध रुपमा काम गर्ने बताएका छन्। उनले आफूले साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको समस्या नै नआउने जिकिर गरे।

‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ। तर उहाँ (कुलमान) ले उधारोको समय पाउनुभयो। तर, साढे ३ वर्ष काम गर्न पाइनँ। अदालतले पनि समयमै निर्णय नगरिदिँदा मेरो यो अवधिको योजना बनाउन सकिएन,’ उनले भने।

शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने बताए।

‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन। लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो। पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो। अहिले पनि उता (भारत)को बिजुली यता दिएर व्यवस्थापन गरिएको हो। अहिले पनि लोडसेडिङ हटेको होइन, उद्योगमा लोडसेडिङ छँदैछ,’ उनले भने, ‘घरघरमा लोडसेडिङ हुने सवालै छैन। उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउने चाहिँ सूत्र मैले फलोअप गरिरहेको छु।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङ्लाई हटाएर उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार