

काठमाडौं । दुई वर्षअघि निर्देशक सौरभ चौधरी फिल्म ‘अगस्त्य’को पोस्ट प्रोडक्सनको काम गरिरहेका थिए । त्यहीबेला उनले रुकुमपश्चिमका एक सामान्य गाउँले व्यक्ति भेटाए । त्यो उनका लागि विल्कुल संयोग थियो । कुरा गर्दै गर्दा सुरुमा त ति व्यक्तिको कथालाई निर्देशक सौरभले पत्याएनन् ।
तर, केही समयपछि भने त्यो कथा र ती व्यक्तिप्रति उनको चासो बढ्दै गयो । अनि त ती व्यक्तिले भनेको कथालाई क्रस चेक नै गर्न थाले । र, लामो समय चेक गरेपछि त्यो कथा सत्य भएको पत्ता लगाए ।
अनि उनलाई लाग्यो– यस्ता कथाहरू दबाएर राख्नु हुँदैन, सबैलाई भन्नुपर्छ अर्थात् फिल्म बनाउनुपर्छ ।
त्यसपछि सुरू भयोको थियो, ‘कर्मा’को यात्रा । एउटा गाउँको व्यक्ति सपना बोकेर शहर पस्दै गर्दाका संघर्षहरू उक्त व्यक्तिले सुनाएको थियो । त्यसैबाट प्रभावित बनेका सौरभले त्यस कथालाई टिपे अनि फिल्मी शैली दिए । बल्ल, तयार भयो, फिल्म ‘कर्मा’को स्क्रीप्ट ।
‘कर्मा’ आफैंमा एउटा चक्र हो, जहाँ आज एउटाले कसैलाई चोट पुर्याएको छ भने कुनै न कुनै विन्दुमा ‘कर्मा’ले उसलाई पनि चोट दिएरै छाड्छ । तर, कसरी दिन्छ त ? फिल्म कर्माले यही विषयलाई सुन्दर ढंगले पस्किएको सौरभले सुनाए ।
उनले भनेजस्तै सुन्दर बनेको छ वा छैन, भन्ने चाहीँ बुझ्न पूरा फिल्म नै हेर्नुपर्ने हुन्छ ।
स्टार भर्सेस मल्टिस्टारर
निर्देशक सौरभ चौधरीका सामु अहिले एउटा चुनौती छ– मल्टी स्टारर फिल्मसँग प्रतिष्पर्धा गर्नु अनि त्यसमा जितेर आउनु ।
प्रदीप खड्का, दयाहाङ, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको फिल्म ‘पिताम्बर’ र सौरभको ‘कर्मा’ एकैदिन अर्थात् चैत २९ देखि लाग्दै छ ।
सिने नगरीमा यतिबेला मल्टिस्टारर भर्सेस स्टार भनेर प्रचार हुनुको कारण पनि यही हो । उता, पछिल्लो समय चलेका अनुहार जति सबैलाई राखेर बनाइएको फिल्म ‘पिताम्बर’ लाग्दै छ भने यता सौरभको ‘कर्मा’ । फेरि कर्माको चक्रजस्तै जीवन पनि चल्ने ‘पिताम्बर’ आफूहरूसँगै आए पनि आफ्नो फिल्मलाई दर्शकले माया गर्ने सौरभ बताउँछन् ।
त्यसो त अरू कसैले घोषणा नगर्दै आफूले रिलिज मिति तोकेको सौरभले बताए । तर, आफूहरूले राम्रो फिल्म बनाउने कोसिस गरेको हुनाले जस्तोसुकै फिल्मसँग जुध्नु परेपनि दर्शकले माया गर्नेमा सौरभको विश्वास छ ।
फिल्म ‘बेस्ट फ्रेन्ड्स फरेभर’बाट नेपाली रजतपटमा पाइला टेकेका सौरभले यसअघि प्रेम कथा भन्ने फिल्म ‘लाभ दायरिज’, एक्सन प्रधान फिल्म ‘अगस्त्य’को निर्देशन गरिसकेका छन् । चरित्र आर्टिस्टका रूपमा चिनिएका नाजिर हुसेनलाई ‘अगस्त्य’मा एक्सन गराएर चुनौती मोलेका सौरभले यसपटक पनि फरक गर्ने कोसिस गरेका छन् ।
उनले पहिलो पटक अभिनेता विपीन कार्कीलाई एक्सन मात्रै गराएनन्, मुकुन भुसाललाई नेगेटिभ क्यारेक्टरमा देखाएका छन् ‘कर्मा’ मार्फत् । फिल्मको टिजर सार्वजनिक भइसक्दा धेरै दर्शकले विपीनको एक्सन नै हेर्न उत्सुक भएको प्रतिक्रिया दिएका छन् ।
विपीन कार्कीसँग काम गर्दाको सहजताबारे विपीनले यस पटक निकै मेहनत गरेको सौरभले सुत्र न्यूज सँगको कुराकानीमा बताए । आजसम्म विपीनले गरिरहेका अभिनय शैली भन्दा नितान्तः फरक अभिनय गराएको उनको भनाई छ ।
‘विपीन कार्की यसअघिसम्म कलाकार भनेर चिनिएका थिए होला, तर अब कर्मा रिलिज भएपछि उहाँलाई दर्शकले वास्तवमै हिरो भनेर बुझ्ने छन्’, उनले भने ।

सौरभ र विपीनलाई अवसर र चुनाैति
मल्टि स्टारर फिल्म ‘पिताम्बर’सँगै प्रदर्शन हुन लागेको ‘कर्मा’को लागि चुनौति मात्र होइन, अवसर पनि निकै छ । यदि सौरभ निर्देशित ‘कर्मा’लाई दर्शकले मन पराए भने निर्देशकको मात्रै होइन, विपीन कार्कीकै लागि पनि ठूलो सफलता हुनेछ । यो फिल्म सौरभ र विपीन दुवैका लागि सम्भावना र चुनौतिको अवसर हो ।
अर्कोतर्फ आधा दर्जनभन्दा बढी मल्टि स्टारर कलाकारहरु रहेको ‘पिताम्बर’लाई ठूलो चुनौति छ । एकातिर फिल्मको सफलताको विषय छ भने अर्कोतर्फ स्टाररको पनि करियर के हुने भन्ने विषय जोडिन्छ ।
व्यापारकै हिसाबले पूर्व समीक्षा गर्दा पनि मल्टि स्टारर भएकै कारण ‘पिताम्बर’ले ‘कर्मा’को तुलनामा ३ गुणा बढी व्यापार गर्नुपर्ने देखिन्छ । अन्यथा, त्यसमाथि सफलताको प्रश्न उठ्ने छ ।
‘अगस्त्य’बाट पाठ सिक्ने अवसर
योभन्दा अगाडी आफूले निर्देशन गरेको फिल्म ‘अगस्त्य’मा भएको कमजोरी ‘कर्मा’मा सुधारेको उनले भनेका छन् । उनले २ घण्टा १४ मिनेट दर्शकलाई एकदमै ‘इन्जोय’ गराउने र यो फिल्म आफ्नो निर्देशकको सबैभन्दा राम्रो भएको दाबी गरे ।
‘‘अगस्त्य’बाट मैले दर्शकले के मन पराउनु हुन्छ, कथन कस्तो हुनुपर्ने रहेछ, सुधार्नु पर्ने के रहेछ भन्ने धेरै कुरा अनुभव बटुलेपछि नै कर्मा बनाएको हो,’ उनले भने ।
त्यसो त ‘अगस्त्य’ आर्थिक सफलता हासिल गर्न सकेको फिल्म हैन । तर, निर्देशक सौरभ भने यो कुराबाट कत्ति पनि बिचलित भएका भने छैनन् ।
‘अगस्त्यले २५ करोड कमाएको भए पनि म यस्तै हुन्थे, ३ करोड कमाए पनि यस्तै छु,’ उनी भन्छन्, ‘त्यसैले सफलता वा असफलताले ल्कलाकर्मी आत्तिनु वा मात्तिनु हुँदैन भन्ने कुरामा म जानकार छु ।’
हुन पनि ‘अगस्त्य’ले उनलाई एक्सनमा सम्भावना बोकेको निर्देशकको रूपमा चिनायो ।

‘कर्मा’ एक्सन फिल्म हो ?
‘कर्मा’ सस्पेन्स, ड्रामा, लभ र एक्सनको पूर्ण प्याकेज रहेको सौरभको दाबी छ । उनको यो फिल्म पनि एक्सन प्रधान हो । तर, फिल्ममा एक्सन मात्रै नै छैन ।
अभिनेता विपिन कार्कीलाई पहिलो पटक एक्सनमा उतारेका सौरभलाई त्यो चरित्र दर्शकले रुचाउलान् वा नरुचाउलान् भन्ने चुनौती पनि छ ।
सौरभले एक्सन भूमिकामा विपिनलाई नै लिनुको कारण बारे भने यसरी भनेका छन्, ‘फिल्ममा एक्सन मात्र गर्नुपर्ने सिन धेरैमा २/४ वटा हुन्छ । त्योबाहेक त सिन ‘क्यारी’ गर्नुपर्छ । यसैले सिन ‘क्यारी’ गर्न सक्ने कलाकार चाहिएकाले विपिन कार्कीलाई रोजेको हुँ ।’
यो फिल्ममा ग्राउन्ड लेभलको मान्छेको कथा भएको अनि एकछिन लभस्टोरी चल्यो लगत्तै एक्सन आयो भन्ने खालको नभएको सौरभ बताउछन् । उनको बुझाइमा फिल्म भनेको मनोरञ्जन हो ।
‘फिल्म मानिसको दोस्रो प्राथमिकता हो । पहिलो प्राथमिकता गाँस, बास र कपास हो । दोस्रो प्राथमिकतामा मनोरञ्जन पर्छ,’ उनी भन्छन्, ‘मैले यसबाट कुनै शिक्षा वा ज्ञान बाँड्न खोजेको छैन । फिल्म भनेको मनोरञ्जनका लागि हेर्ने हो । मैले ‘कर्मा’ पनि मनोरञ्जनकै लागि बनाएको हुँ ।’
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
चैत २९ गतेदेखि नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो सिनेमा हो ।