

काठमाडाैं । आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कुल (केटीएस) मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको धुम्बाराहीमा आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले स्कुलको उद्घाटन गर्दै सीपयुक्त जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन्।
केटीएसले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारीमूलक तथा स्वरोजगारमुखी तालिम सञ्चालन गर्नेछ। स्कुलको लक्ष्य आगामी १० वर्षभित्र १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ, जसअनुसार वार्षिक १० हजार प्रशिक्षार्थी उत्पादन गरिनेछ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट बेरोजगारी घटाउने र युवा पलायन रोक्ने प्रयास स्वरूप यो स्कुल स्थापना गरिएको जानकारी दिए। उनले भने, “सीपसहितको जनशक्ति विदेशमै होस् वा स्वदेशमै, सम्मानित र उच्च पारिश्रमिकयुक्त रोजगारीमा पुग्न सक्षम हुन्छ।”
आईएक्सआई कर्प, जसले वैकल्पिक शिक्षा, ऊर्जा र सार्वजनिक नीतिमा काम गर्दै आएको छ, त्यसको सहकार्यमा सुरु गरिएको केटीएसले गुणस्तरीय तालिम र व्यावसायिक दक्षता विकास गर्ने रणनीति लिएको छ।
केटीएसका अध्यक्ष मनोज पौडेलले स्कुलले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए। उनले स्कुलले केवल विदेशमै होइन, नेपालमै रोजगारी तथा उद्यमका अवसरहरू सिर्जना गर्ने बताउँदै तालिम प्रणालीलाई बजार मागअनुसार सुदृढ गरिने जानकारी दिए।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।