

काठमाडौं । आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मीनबहादुर भामले निर्देशन गरेको फिल्म ‘शाम्बाला’ले शीर्ष पुरस्कार गौतम बुद्ध अवार्ड जितेको छ।
सोमबार बेलुका सम्पन्न आठौंं निफमा १७ विधाका विजयीलाई पुरस्कृत गरिएको थियो। नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म घोषित भयो। ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए।
फिचर फिल्मको प्रतिस्पर्धामा ‘पूजार सार्की’बाट दिनेश राउत उत्कृष्ट निर्देशक, ‘पूजार सार्की’बाट अञ्जना बराइली उत्कृष्ट अभिनेत्री, ‘आँखा’बाट आरके मेहता उत्कृष्ट अभिनेता, ‘पूजार सार्की’बाट राजेश श्रेष्ठ उत्कृष्ट छायांकार र ‘आँखा’बाट जौन योञ्जन उत्कृष्ट पटकथा लेखक घोषित भए।
भारतीय फिल्म ‘रूक्मिणी’ले डन क्वीजोटे अवार्ड पाउँदा मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) चाहिँ अर्जेन्टिनाको फिल्म ‘द अविस’ले पाएको हो।
छोटो फिल्म विधातर्फ ‘अ बिट्नेस’तर्फ निशान खत्री उत्कृष्ट निर्देशक, माउन्ट एभरेस्ट अवार्ड बेल्जियमको ‘मेल्टिङ स्नो’ले पाएको छ। बागमती अवार्ड स्पेनी फिल्म ‘लुसिया जि रोमेरो’ले पायो।
अडिएन्स च्वाइसतर्फ लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’ उत्कृष्ट कथानक फिल्म बन्दा यही विधामा लव प्याकुरेलको ‘गल्स रि राइटिङ डेस्टिनी’ उत्कृष्ट डकुमेन्ट्री र साक्षी रुख उत्कृष्ट छोटो फिल्म घोषित भए।