

काठमाडौं । सरकारले सोमबारसम्म लुकाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय आधिकारिक रूपमै सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे पनि जानकारी गराएका हुन्।
‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर) लाई नियुक्त गर्ने निर्णय पनि भएको छ,’ उनले भने।
उनले कुलमानको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सरकारले सामान्य रुपमा लिइएको बताए।
‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ। वक्तव्य दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं,’ मन्त्री गुरुङले भने।
उनले कुलमानसँगको निर्णय सुशासनसँग जोडिएको पनि बताए।
‘यो सुशासनसँग जोडिएको विषय हो। हरेक विषयमा हामी व्यापारी होइनौँ। नाफा-नोक्सान हेरिएको हुँदैन,’ उनले भने, ‘लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन्।’