

काठमाडौं । अभिनेता दयाहाङ राईका दुई फिल्म ‘अञ्जिला’ र ‘राजागंज’ एक दिनको अन्तरमा प्रदर्शनमा आएका थिए। ‘अञ्जिला’ फागुन २९ गते र ‘राजागंज’ चैत १ गतेबाट प्रदर्शन भएको थियो। तर, दुई मध्ये एक चल्यो भने अर्को चल्न सकेन।
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ। मिलन चाम्स निर्देशित फिल्मले आगामी सप्ताहन्त ५ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ।
सोमबार रातीसम्म फिल्मले देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ।
‘अञ्जिला’मा दयाहाङ एन्जिलाको सौतेनी बाबुको भूमिकामा छन्। उनको अभिनयलाई दर्शकदेखि समीक्षकसम्मले प्रशंसा गरेका छन्। तर, दयाहाङकै ‘राजागंज’ भने यस वर्ष न्यून व्यापार गर्ने फिल्म बनेको छ।
‘राजागंज’ फिल्मको व्यापार २० लाख पनि पुगेको छैन। दर्शक अभावले कति हलमा फिल्म दुई दिन पनि टिक्न सकेन। यद्यपि, फिल्मले उत्कृष्ट समीक्षा पाएको छ।
त्यसै पनि प्रचारप्रसारको क्रममा उनले ‘राजागंज’लाई बढी काखी च्यापेका थिए। उनको फेसबुक पोस्टहरू हेर्दा पनि त्यो प्रष्ट हुन्छ।