

काठमाडौं । सनलङको इलेक्ट्रीक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो । कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापना गरी सनलङ ईभीयू–३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।
सनलङ ईभीयू–३ मा ७० किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
सनलङ ईभीयू–३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।
यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताइएको छ ।
ब्लू कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ ।