

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता गठबन्धनको बैठकले निकै विवादित बनेको भूमि सम्बन्धि अध्यादेशलाई विधेयकका रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई नियमित विधेयककै रूपमा अगाडि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
यसअघि संसदको हिउँदे अधिवेशन सूचारु नहुँदै सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको भूमि सम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टी नेपाल सहितका मधेस केन्द्रीत दलले विरोध गरेपछि संसदमा निर्णायार्थ प्रस्तुत हुन नसकेको यो अध्यादेश अब नियमित विधेयककै रूपमा अगाडि बढाउन सत्ता गठबन्धन सहमत भएको हो।
बालुवाटारमा सत्ता गठबन्धको बैठक जारी रहँदा बानेश्वरमा विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलाई लिएर प्रधानमन्त्रीकै जवाफ माग गर्दै संसद अवरुद्ध गरेपनि सत्ता गठबन्धनको बैठकमा यो विषयमा चर्चै नभएको सत्ता गठबन्धनका नेताहरूको दाबी छ।
आजको सत्ता गठबन्धनको बैठकमा यसअघि अनुपस्थित रहँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादब सहित सबै दलका शिर्ष नेता सहभागी थिए।