

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । बुधबार ३९.१३ अंकले बढ्दै बजार २६२१.८६ को बिन्दुमा उक्लिएको छ ।
यसअघि मंगलबार ५८.०५ अंकले घट्दै बजार २५८२.७३ को बिन्दुमा ओर्लिएको थियो ।
उच्च बृद्धिका बिच बुधबार सबैजसो समूहको सूचकमा हरियाली छायो । सबैभन्दा बढी अन्य समूहको सूचक २.२८ प्रतिशतले बढ्यो ।
कारोबारमा आएका २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घट्यो ।
उच्च अंकको बृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । बुधबार ९१ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २० करोड ४४ लाख रुपैयाँको भयो । जुन अघिल्लो कारोबार दिनको तुलनामा झण्डै १ अर्बले कम हो ।
आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफलगायत शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै ४१ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
झण्डै एक महिनादेखि ओरालोमा रहेको सेयर बजारमा पछिल्ला केही दिनमा तिव्र उतारचढाव चलेको छ । सोमबार दोहोरो अंकले बढेको बजारमा मंगलबार पुनः उच्च अंकको गिरावट आएको थियो ।
जसलगत्तै बुधबार पुनः बजारमा उच्च अंकको बृद्धि भएको हो ।
विशेषगरी राजनीतिक क्षेत्रमा देखिएको अन्योलताको प्रभाव बजारमा परेको देखिन्छ । लगानीकर्ता अन्योल हुँदा बजारमा उतारचढाव चलिरहेको हो ।