

अहिले लौरो टेक्नेहरूको ज्यादती सहनु परेको छ । लौरो बोक्नेहरूलाई लौरो टेक्नेहरूले कजाइरहेको अवस्था छ । लौरो टेक्नेहरूले हतपती अवकाश लिने अवस्था पनि देखिन्न । अझ, राजनीतिमा ‘रिटायर्ड’ भन्ने शब्द नै प्रयोग हुँदैन । लौरो टेक्नेहरू जिन्दगीको अन्तिम श्वास नलिउन्जेलसम्म पद र प्रतिष्ठाको लोभमा फसिरहने दृष्टान्त नेपाली राजनीतिमा परम्परा नै बसेको छ ।
जनप्रिय २ व्यक्ति बालेन साह र कुलमान घिसिङले राजनीति गर्दैनन् । जसले राजनीति गर्छ, उसले काम गर्दैन । जसले काम गर्छ, उसले राजनीति गर्दैन । बालेन र कुलमानको कुनै पार्टी छैन । यिनलाई असल प्रशासकभन्दा फरक नपर्ला ।
नेपाललाई अन्धकार युगबाट उज्यालो युगमा डोर्याउने व्यक्तित्व कुलमानले एउटा इतिहास त राखे नै । राष्ट्र समृद्धिको महायज्ञमा काम गर्दागर्दै सरकारको आँखामा कसिङ्गर बन्न पुगेका कुलमानलाई भर्खरै अपमानपूर्वक अनेकौँ लाञ्छना लगाएर पदच्युत गरियो । यद्यपि, नेपाली जनताले सधैँभरि सम्झिरहने एक असल व्यक्तिका रूपमा उनको नाम दर्ज भएको छ । उनको कामको जनप्रशंसा देखेर नै सरकार नेतृत्व आत्तिएको हो । जसबाट आत्तिएको सरकारले जबरजस्त शैलीमा हटाएको हो ।
यता बालेनले पनि फोहोर र कुरूप बनेको काठमाडौंलाई व्यवस्थित बनाउने प्रयास गर्दैछन् । फोहोर मैलादेखि स्वास्थ्य र शिक्षामा उनले निकै धेरै काम गरेका छन् । अहिले काठमाडौंका गल्ली गन्हाउने अवस्थामा छैनन् । सँगै, धुलाम्मे हुने समस्या पनि कम भइरहेको छ । यतिबेला बालेनको नेतृत्वमा महानगरले थुप्रै विकास तथा निर्माणका काम गरेको छ ।
उनले शिक्षा र स्वास्थ्यमा गरेको काम निकै जनताको पक्षमा छ । काठमाडौंका रैथाने र काठमाडौंमा बस्ने विपन्नका निम्ति शिक्षा र स्वास्थ्यमा बालेनले थालेको अभियानले निकै ठूलो राहत दिएको छ । एकातिर विद्यालयहरू निकै फेरिएका छन् भने अर्कोतर्फ सरकारी स्वास्थ्य संस्थाहरू देखाउने होइन, उपचार गर्ने थलो बनेका छन् ।
यदि बालेन र कुलमान कुनै पार्टीमा आबद्ध हुन्थे भने उनीहरू यति धेरै काम गर्ने अवस्थामा हुने थिएनन् । सँगै, लोकप्रिय पनि कमाउने अवस्था हुँदैनथ्यो ।
नेपालमा यिनै लौरो टेक्नेहरूको कारण राजनीतिक पात्रलाई धिक्कार्ने अवस्थाको विकास हुन थालेको छ । अहिले जो स्वतन्त्ररूपमा राष्ट्र निर्माणका लागि होमिएको छ, जोसँग भिजन छ उसलाई नै समाजले मन पराउन थालेका छन् । स्वतन्त्र आँखा बालेनको लौरो चुनाव चिन्ह यत्तिकै प्रसिद्ध भएको होइन । बालेनले पार्टी खोल्ने हल्ला चल्दा चल्दै सेलाएको छ । उनी पार्टी खोल्दैनन् तर, लौरोको गरिमालाई आउने दिनमा व्यापक बनाउँछन् । स्वतन्त्र व्यक्ति जो काम गर्छ, उसलाई मन पराउँछ अहिलेको समाजले ।
पार्टीको मान्छेको उपस्थितिलाई राजेन्द्र लिङ्देनले भने जस्तै ‘चोर आयो…’को उपमा दिन थालिएको छ । राजनीतिमै लागेका सत पात्रहरूलाई कसरी हराइन्छ भन्ने कुरा हामीलाई इतिहासले भनिसकेको छ । अब बुझ्नु केही बाँकी छैन । लौरो टेक्ने वृद्ध अवस्थाका बुढा नेताबाट अब राष्ट्रले केही पाउँदैन भन्ने कुरा प्रमाणित गरिसकेको छ । त्यसैले लौरो टेक्नेलाई होइन, लौरो बोक्ने युवा स्वतन्त्र व्यक्तिहरूलाई साथ दिनुको विकल्प छैन ।