

काठमाडौं । बुधबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाए। माओवादी संसदीय दल कार्यालयमै बैठक बस्यो।
बैठकमा माओवादी अधक्ष्य प्रचण्ड, वरिष्ठ उपाधक्ष्य नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, नेसपा अधक्ष्य महेन्द्र नारायण राय लगायतका नेताहरु सहभागी भए। तर, राप्रपा सहभागी भएन।
यसअघि विपक्षी दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी हुने गरेको थियो। यसपटक भने राप्रपा व्यवस्था फाल्नको लागि आन्दोलनमा रहेको हुनाले उसलाई बैठकमै बोलाइएन। प्रचण्डको सचिवालयका अनुसार बुधबारको बैठक संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको हो।
‘यो संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक हो,’ सचिवालयले भन्यो।
प्रतिनिधि सभामा १४ सांसद रहेको राप्रपाले मंगलबार राजसंस्था पुनर्थापना, हिन्दु राज्य र संघीयता खारेजीलगायत एजेन्डाका लागि भन्दै आन्दोलनमा जाने निर्णय गरेको थियो।
अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख रहेको आन्दोलन परिचालन मूल समितिले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो।
राप्रपा अहिलेको व्यवस्थाको विरोधमा आन्दोलनमा जान लागेकोले गणतन्त्र पक्षधर विपक्षी दलहरूले राप्रपालाई बैठकमै नबोलाएको प्रचण्डले पनि स्वीकार गरे।
यही विषयमा संसद भवनबाहिर सञ्चारकर्मीहरुले विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ? भन्दै प्रश्न सोधे।
जवाफमा उनले भने, ‘उहाँहरुको एजेण्डा र हाम्रो एजेण्डा फरक भएकाले हो। तर, अहिले उहाँ पनि विरोधमा हुनुहुन्छ। हामी अहिले मिलेकै छौं। कुरा गरेकै छौं।’
कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णयको विरोधमा सदनमा राप्रपाले आजको बैठकमा नबोलाइएको भएपनि उठेर साथ दिएको थियो। कुलमान हटाइएको विषयमा सबै विपक्षी दलले संसद् अवरोध गर्दा राप्रपा अधक्ष्यसहितका नेताहरूले संसद् अवरोध गर्दा एकजुट भएका थिए।