उपमुख्यमन्त्रीलाई ‘देशद्रोही’ भन्दै प्यारोडी गीत बनाएपछि कमेडियन कुणाललाई ५०० पटक ज्यान मार्ने धम्की-Sutra News

उपमुख्यमन्त्रीलाई ‘देशद्रोही’ भन्दै प्यारोडी गीत बनाएपछि कमेडियन कुणाललाई ५०० पटक ज्यान मार्ने धम्की

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एकनाथ शिन्देको प्यारोडी गीत बनाएको भन्दै कमेडियन कुणाल कामरालाई लगातार ज्यान मार्ने धम्की आइरहेको छ।



३६ वर्षीय कमेडियन कामराले लोकप्रिय हिन्दी फिल्म गीतको प्यारोडी गरेर शिन्देको राजनीतिक करिअरको आलोचना गर्दा महाराष्ट्रमा ठूलो राजनीतिक आँधीबेहरी आएको छ। कामराले फिल्म ‘दिल तो पागल है’ को एउटा गीतको प्यारोडी गरेका थिए, जसमा शिन्देलाई देशद्रोही भनिएको थियो।

कुणाल कामराले कार्यक्रमको रेकर्डिङ आइतबार आफ्नो युट्युब च्यानलमा पोस्ट गरेका थिए।

यसपछि शिव सेनाका नेताहरूले कुणाल कामरालाई शिवसैनिकले कुटपिट गर्ने धम्की दिएका थिए। त्यसबाहेक कामरालाई कम्तिमा ५०० पटक ज्यान मार्ने धम्की आएको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रहरीले कामरालाई बयानका लागि उपस्थित हुन भनेको छ। बुधबार, खार पुलिसले बीएनएसको धारा ३५ अन्तर्गत कामरालाई दोस्रो पटक उपस्थित हुन बोलाउनेछ। कामरा अहिले मुम्बई बाहिर छन्।

कामराले गत मार्च २५ मा सामाजिक सञ्जालमा अर्को नयाँ प्यारोडी गीत पोस्ट गरेका थिए। उनले ‘हम होंगे कामयाब’ को लाइन परिवर्तन गरेर ‘हम होंगे कंगाल एक दिन’ बनाएका थिए।

स्ट्यान्डअप कमेडियन कामराविरुद्ध मार्च २४ मा एफआईआर दर्ता गरिएको थियो।

महाराष्ट्रका गृहराज्यमन्त्री योगेश कदमले विधानसभामा भने, ‘हास्य कलाकार कुणाल कामराको कल रेकर्डिङ, सीडीआर र बैंक स्टेटमेन्ट पनि छानबिन गरिने छ। यसको पछाडी को छ भन्ने पत्ता लगाउने छौँ।’

बुधबार बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी)को टोलीले युनिकन्टिनेन्टल होटलमा कारबाही गरेको छ। शिव सेना (शिन्दे) का कार्यकर्ताले यो प्यारोडीलाई महाराष्ट्रका उपमुख्यमन्त्री शिन्देमाथि आपत्तिजनक टिप्पणीको रूपमा लिए र आइतबार राती युनिकन्टिनेन्टल होटलमा तोडफोड गरे।

सोमबार कामराले आफ्नो स्ट्यान्ड अप एक्टको विवादमा विज्ञप्ति जारी गर्दै महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देविरुद्ध गरिएको टिप्पणीका लागि माफी नमाग्ने बताएका थिए। कामराले विज्ञप्तिमा कमेडी शो रेकर्ड गरिएको स्थानमा भएको तोडफोडको आलोचना गरेका थिए।

कुल ४० शिवसैनिक विरुद्ध एफआईआर दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार