विपक्षीसँग भिड्न कार्यकर्ता उक्साउँदै प्रधानमन्त्री, आफ्नो बारेमा जथाभावी नबोल्न नेताहरूलाई धम्की-Sutra News

विपक्षीसँग भिड्न कार्यकर्ता उक्साउँदै प्रधानमन्त्री, आफ्नो बारेमा जथाभावी नबोल्न नेताहरूलाई धम्की

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको तथा देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताएका छन्।



राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विरोधीहरूलाई बाघले झम्टिए झैँ झम्टिनको लागि निर्देशन दिए।

‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्सजस्तै। यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’

त्यसो त यसअघि पनि ओलीले आफ्नो आलोचना गर्नेलाई मौरीले जस्तै घेरेर प्रहार गर्न निर्देशन दिएका थिए। उनी पटक-पटक आफू र आफ्नो पार्टीलाई विरोध गर्नेहरूमाथि खनिन आफ्ना कार्यकर्तालाई निर्देशन दिने गर्छन्। त्यही अनुरुप यसअघि प्रधानमन्त्री बन्दा पनि उनले साइबर सेना स्थापना गराएर पनि विरोधीहरूविरुद्व लड्न निर्देशन दिएका थिए।

आजको त्यस कार्यक्रमले उनले युवाहरूलाई निर्देशन मात्र दिएनन्, प्रमुख प्रतिपक्ष माओवादीका अधक्ष्य पुष्पकमल दाहाल प्रचण्डसहितलाई आफ्नो आलोचना नगर्नु भन्दै चेतावनी नै दिए।

माओवादी तर्फ संकेत गर्दै उनले भने, ‘प्रधानमन्त्रीको सन्दर्भमा जथाभावी बोल्दै पनि नहिंड्नुस। थाथा छ, तपाईंहरूको पृष्ठभूमी, के गर्न हिड्नु भएको थियो, कहाँ आइपुग्नु भयो त्यो पनि देखेका छौं।’

ओलीले माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिए।

‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर, कति मान्छे मारेर, मराएर विध्वंस मच्चाएर थाकेर, थकित तत्वहरूका पसिना पुछ्न किन जानुपर्‍यो,’ विपक्षी दलको बैठकमा सहभागी रास्वपालाई प्रश्न गर्दै ओलीले भने, ‘आफूलाई नयाँ शक्ति भन्छन् नि, ७० वर्षको बुढो भयो रे नेता, ८८ वर्षका खोज्न जान्छन्।’

रास्वपालाई संकेत गर्दै ओलीले थोत्रो प्रणाली बोकेर आफूलाई नयाँ भन्ने गरेको भन्दै उनले थपे, ‘सबभन्दा थोत्रो प्रणाली सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छु भन्छन्, नयाँ भनेर उचाल्ने गर्छन्, नयाँ ?’

राजतन्त्रलाई थोत्रो र सामन्तीवादी प्रणाली भन्दै उनले नयाँ शक्ति भन्नेहरू मसिहातन्त्र ल्याउन हिँडेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार