

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलिरहेको बताएका हुन्।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट बर्खास्त गरेपछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेका छन्। त्यसक्रममा उनले कुलमानप्रति संकेत गर्दै बढी मिडियाबाजी गरेको आरोप लगाए।
‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन। त्यो चाहीँ स्वच्छाचारी हुन्छ। यो व्याप्त छ अहिले। हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ। प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ। कर्मचारी साथिहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिष्पर्धा चलेको छ,’ उनले भने।
कर्मचारीले त्यसरी मिडियाबाजी गर्दै हिंडे लगाम लगाउन सरकार पछि नहट्ने भन्दै उनले चेतवानी समेत दिए।
‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो। यसमा तपाईँहरूको पनि ध्यान जाओस्,’ उनले भने।
उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्यसहित काम गरिरहेको बताए।