गणतन्त्रवादी र राजावादीलाई प्रश्न : आन्दोलन किन र कसका लागि ?-Sutra News

गणतन्त्रवादी र राजावादीलाई प्रश्न : आन्दोलन किन र कसका लागि ?

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको आफूलाई चित्त नबुझेको कुरा बोल्न पाइनु, भन्न पाइनु र अधिकारको उपयोग गर्न पाउनु हो । गणतन्त्रले दिएको उपहार नै जनस्वतन्त्रता हो । प्रधानमन्त्रीलाई भरमार गाली गर्न पाइन्छ अहिले । गलत गर्नेलाई औँल्याउन पाइन्छ अहिले । वाक स्वतन्त्रताको यसरी उपयोग गर्न पाइन्छ कि तपाईंले त्यही कुरो राजतन्त्रमा बोल्नु भो भने तपाईँलाई कानुनी सजाय हुन्छ । तपाई कैद बस्नुपर्छ । तपाईँको अधिकार कुण्ठित हुन्छ । तपाईँको मौलिक हक बन्धकमा पर्छ ।



आज हामीले जे–जस्तो हरकत गरिरहेका छौं हिजो यस्तै हरकत गर्नेहरू सहिद हुन प¥यो । ढुंगा देख्दैन, राजा बोल्दैन भन्ने मिथक यसै बनेको थिएन । गणतन्त्र (रिपब्लिक) एक यस्तो शासकीय प्रणाली हो जसमा देशको सर्वोच्च शक्ति जनता आफैमा निहित हुन्छ । यस प्रणालीमा जनताले प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना प्रतिनिधिहरू छान्छन् । नेपालमा २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

गणतन्त्र एउटा जनउत्तरदायी, समतामूलक र लोकतान्त्रिक प्रणाली हो, जसले प्रत्येक नागरिकलाई समान अवसर प्रदान गर्छ । यसको प्रभावकारी कार्यान्वयनले मात्रै राष्ट्रको दिगो विकास सम्भव छ । तर गणतन्त्रलाई प्रधानमन्त्रीले र राज्यका प्रमुख निकायहरूले उनीहरूको पेवा सम्झिए भने फेरि यो व्यवस्था आफैमा अपाङ्ग हुन्छ । जनताले सचेत भई लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् गर्दै जिम्मेवार नागरिकका रूपमा भूमिका निभाउनुपर्छ भनेको त्यही कारण पनि हो ।

हामीले छातीमा हात राखेर आफैलाई सोधौँ कि हामी देशप्रति, व्यवस्थाप्रति कति जिम्मेवार रह्यो त ? गणतन्त्र आएको भोलिपल्टैदेखि यसको विरोध सुरु भएको थियो र त्यो विरोध आजसम्म निरन्तर छ । अहिले देखिन थालेका आन्दोलन पनि त्यसैको विरोध हो क्रम हो । विरोध गर्ने बानी नै नेपाली राजनीतिको एउटा सर्त बनिसकेको छ ।  राजतन्त्रवादीहरूले गर्ने आन्दोलन राजा ल्याउनको लागि हुँदै छ । तर, अहिलेको संविधानले राजाको कतै पनि कल्पना गरेको छैन ।

जनताले गर्ने सबै आन्दोलन जनताको हक र अधिकार स्थापनाको लागि हो । यस्ता आन्दोलन हुनुपर्छ नै । यस्तै खालको आन्दोलनले हो गणतन्त्रवादीहरूलाई सच्चिन सिकाउने । बेला–बेलामा आन्दोलन गर्न पाइने छुट त यही व्यवस्थाले नै दिएको हो अनि किन किन नगर्नु ? हिजो आन्दोलन गर्दा अङ्गभङ्ग हुने, थुनिने, मुद्दा लाग्ने, नोकरी जाने सम्भावना हुन्थ्यो भने आज त्यो अवस्थाको विधिवत अन्त्य भएको छ । गणतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । राज्यका नीति, योजना र निर्णयहरू जनताको इच्छाअनुसार निर्धारण गरिन्छ । नागरिकहरूले स्वतन्त्र रूपमा आफ्नो अधिकार प्रयोग गर्न पाइरहेका हुन्छन् । भोलि हुने आन्दोलन पनि त्यही गणतन्त्रले दिएको अधिकारको प्रयोग हो ।

गणतन्त्रमा मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप सञ्चालन हुन्छ र हुनुपर्छ । भएन विरोध हुन्छ । विरोध गर्न पाइन्छ । नियमित निर्वाचनमार्फत योग्य उम्मेदवारहरू चयन गरिएन भने आफैले दुख पाइन्छ भन्ने चेत जबसम्म हामीमा आउँदैन दुखको अन्त हुने सम्भावना पनि रहन्न । असल मान्छेलाई हराएर खराबलाई जिताउने बानी परेको छ हामीमा ।

गणतन्त्रमा जात, धर्म, भाषा, लिंग, वर्ग आदि कुनै पनि आधारमा विभेद गरिँदैन । सबै नागरिक समान अधिकार प्राप्त गर्न योग्य हुन्छन् । कानुनीरूपमा सबैलाई समान अवसर र न्याय प्रदान गरिने भएकोले नै विश्व राजनीतिबाट राजतन्त्र सक्किएको हो । गणतन्त्रमा शक्ति केन्द्रित नभई विकेन्द्रीकरण गरिन्छ, जसले स्थानीय सरकारहरूलाई सशक्त बनाउँछ । यसले गाउँ, नगर, प्रदेश, र केन्द्रीय सरकारबिच सन्तुलित सत्ता सञ्चालनमा मद्दत गर्छ ।

आन्दोलन शक्तिको अभ्यास पनि हो । आन्दोलन शासन सञ्चालकहरूलाई सचेत हुन सिकाउने बाटो पनि हो । राज्य सधैँ सही बाटोमा हिँड्छ भन्ने पनि छैन । जब–जब सत्तामा बसेकाहरूले बाटो बिराउँछन् त्यति बेला विरोध र आन्दोलनका माध्यमबाट सरकारलाई सच्चिने मौका दिइन्छ । राज्य जब क्रूर बन्छ, जनताका आशा र सपना माथि बुट बजार्छ, आन्दोलन त्यसैको विरुद्धमा हुन्छ । हिजो पञ्चायत फाल्न र राजाको अविवेकी हरकतको विरुद्धमा आन्दोलन छेडियो र फलस्वरूप त्यस्ता युगान्तकारी आन्दोलनहरूले सफलता पाए । आन्दोलन केका लागि र कसका लागि भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।

आन्दोलन आन्दोलनहरूकै एक उपक्रम हो । राजा चाहनेहरू पनि आन्दोलनमा उत्रन्छन् । राजा नचाहने पनि आन्दोलनमा उत्रन्छन् ।

गणतन्त्र अपरिवर्तनीय होइन । जस्तो हिजो राजतन्त्र अपरिवर्तनीय थिएन । आम जनताको मत जता धेरै जान्छ त्यसैलाई मान्नुपर्छ लोकतन्त्रको सौन्दर्य भनेको पनि यही हो । अधिकार लिएर बस्ने कि भएको अधिकार पनि गुमाउने आफ्नै हातमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार