कारोबारसँगै उचालियो सेयर बजार, के माहौल फर्किएको हो ?-Sutra News

कारोबारसँगै उचालियो सेयर बजार, के माहौल फर्किएको हो ?

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बिहीबार ४१.४३ अंकले बढ्दै बजार २६६३.३० को बिन्दुमा उक्लिएको छ ।



यसअघि बुधवार पनि बजारमा ३९.१३ अंकको वृद्धि भएको थियो ।

उच्च अंकको वृद्धिका बिच बिहीबार सबै सेक्टरका सूचक बढे । सबैभन्दा बढी व्यापार समूहको सूचक ६.०९ प्रतिशतले उचालिँदा औसतमा १.५८ प्रतिशतले बजार बढ्यो ।

बिहीबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ ।

बिहीबार सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । ९७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २२ करोड रुपैयाँमाथिको भयो ।
यसअघि बुधवार ४ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।

बजारमा लगातार झन्डै एक महिनादेखि नै गिरावट चलिरहेको थियो । यो साताको पहिलो कारोबार दिनमा पनि उच्च अंकको गिरावटसँगै उक्त ट्रेन्ड दोहोरिएको थियो ।

यद्यपि, सोमबारको वृद्धिपछि मंगलबार पुनः उच्च अंकको गिरावटले लगानीकर्तालाई तर्साएको थियो । तर, बुधवार र बिहीबारको लगातार वृद्धिले भने बजारमा करेक्सनको तह सकिएको संकेत गरेको छ ।

सँगै, केन्द्रीय बैंकमा नेतृत्व छनौटको तयारी चल्दै गर्दा बजार बिस्तारै संग्लिन थालेको देखिन्छ । बजारका जानकारहरूले बजारले विस्तार लय समात्न थालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार