

काठमाडौं । शुक्रवार प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा गणतन्त्रवादी र दुर्गा प्रसाइँको नेतृत्वमा राजावादी समूहले केन्द्रीय राजधानी काठमाडौं केन्द्रित शक्ति प्रदर्शनको तयारी गरेका छन् । माओवादी केन्द्रले विपक्षी दलसहित विभिन्न साना गणतन्त्रवादी दलहरूलाई समेटेर शक्ति प्रदर्शनको तयारी गरेको छ भने प्रसाइँ नेतृत्वको समूहले राप्रपासहित विभिन्न राजावादीको साथ लिएको छ ।
माओवादी केन्द्रले आफ्नो प्रदर्शन वर्तमान सरकार र राजसंस्थावादीविरुद्ध केन्द्रित हुने बताएको छ । उसले सरकारविरुद्ध खबरदारी र राजसंस्थावादीविरुद्ध प्रतिरोध गर्ने गरी प्रदर्शनको तयारी गरेको छ ।
यता, प्रसाइँ नेतृत्वको समूहले व्यवस्था बदल्ने आन्दोलनको सुरुवातको रूपमा शुक्रवारको प्रदर्शनलाई लिएको छ ।
दुई शक्ति एकआपसमा प्रदर्शनमा जुट्दै गर्दा आमरुपमा अन्योलताको सिर्जना भएको छ । शुक्रवारको प्रदर्शनले कस्तो रूप लेला र यसले आगामी दिन कति प्रभाव पार्ला भन्ने प्रश्न जन्माएको छ ।
यद्यपि, सरकार नेतृत्वकर्ताको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘फुटकर’ प्रदर्शन भन्दै दुई समूहको प्रदर्शनलाई व्यंग्य गरेका छन् । यस्ता प्रदर्शनलाई गणना गर्न आवश्यक नभएको अभिव्यक्ति उनले दिएका छन् ।
‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन्, तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’
सरकार यस्ता फुटकर प्रदर्शनलाई ध्यान दिने तहमा नभएको प्रधानमन्त्रीको भनाई छ । ‘ के–के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ’, ओलीले भनेका छन् ।
यद्यपि, ओलीले गरेको यो टिप्पणीलाई लिएर प्रश्न उठेको छ । उनले किन यसरी दुई समूहको उछितो काढे ? प्रश्न देखिन्छ ।
देउवाको साथबाट सुरक्षित छन् ओली
ओली यतिबेला निकै शक्तिशाली अवस्थामा देखिन्छन् । सरकारको नेतृत्व गर्ने अवसर पाएका ओलीलाई सबैभन्दा ठूलो दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो साथ दिएका छन् ।
देउवाको बलियो साथ पाएका ओलीले सरकार नेतृत्वमा आफूलाई निकै सुरक्षित महसुस गरिरहेको देखिन्छ । विशेषगरी सरकारभित्र हुने शक्ति बाँडफाँटका विषयमा ओली र देउवाबिच विश्वासको सहमति देखिन्छ ।
पछिल्लो कुलमान घिसिङ बर्खास्तीसम्मको घटनामा आउँदा ओली र देउवाबिच सम्बन्ध चिसिएको रूपमा अर्थ्याइएको थियो । तर, उक्त घटनापछि एउटै मञ्चमा देखिएका देउवाले ओली र आफू जेलदेखि कै साथी भन्दै ओलीको तारिफ गरे ।
‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौँ, हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौँ’, देउवाले भनेका छन्, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौँ, कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ ।’
घिसिङ बर्खास्तीको घटनाबाट कांग्रेस विभाजित छ । मुख्यगरी इतर समूहले खुलेर विरोध जनाउँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आक्रामक विरोधमा देखिएका छन् । यद्यपि, देउवा टसमस देखिएनन् ।
जसबाट ओलीले निकै सुरक्षित महसुस गरेका छन् ।
सँगै, ओलीले यतिबेला सत्ता साझेदार अन्य दललाई पनि आफू अनुकूल उभ्याएका छन् । विशेषगरी भूमिसम्बन्धी अध्यादेशमा देखिएको विरोधलाई साम्य पारेका ओलीले अन्य विषयमा सहमत बनाउँदै लगेका छन् । जसले उनलाई थप ‘कम्फर्ट’काे अवस्था दिलाएको देखिन्छ ।
जनमतअनुसार कमजोर छन् माओवादी र राजावादी
ओलीले विशेषगरी माओवादी नेतृत्वको समूह र राजावादी समूहको प्रदर्शनलाई बेवास्ता गर्नुको पछि उनीहरूको शक्तिको आकलन गरेको राजनीतिक विश्लेषक मुकुन्द आचार्य बताउँछन् । दुवै समूहले निर्णायक आन्दोलन गर्ने ल्याकत नराख्ने बुझाइमा ओली रहेको आचार्यको विश्लेषण छ ।
‘जनमतका हिसाबले आफूहरू बलियो छौँ भन्ने ओलीलाई परेको छ, सँगै उनीहरूले निर्णायक तहको प्रदर्शन गर्न सक्दैनन् भन्ने पनि परेको देखिन्छ’, आचार्यले भनेका छन्, ‘हुन पनि २०७९ को आम निर्वाचनको परिणामलाई हेर्दा न माओवादीको पक्षमा बलियो जनमत छ न त राजावादीको पक्षमा ।’
जनमत परीक्षणमा निरन्तर खस्किँदो देखिएको माओवादी २०७९ को आम निर्वाचनमा निकै कमजोर तेस्रो शक्तिको रूपमा उभिएको थियो । त्यसयता भएका उपनिर्वाचनमा केही सन्तोषजनक देखिए पनि सोही निर्वाचनलाई नै आधारमा मानेर माओवादीको जनमत बढेको भन्ने देखिन्न ।
यता, प्रदर्शनलाई हेर्दा मत बढे पनि वैधानिक जनमत परीक्षणका विधिमा राजावादी पनि उस्तै कमजोर देखिन्छन् । ओलीले दुवै समूहलाई शक्ति बिहीनरुपमा लिएको आचार्यको विश्लेषण छ ।