

काठमाडौं । नवराज सुवेदी संयोजकत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डर बनाएर राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन भोलिदेखि आन्दोलन गर्दै छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक सुवेदीले प्रसाईं समूहले चैत १५ गते गते प्रदर्शनलाई समितिले समर्थन गर्ने र शुक्रबारदेखि नै आन्दोलन सुरू हुने घोषणा गरे।
त्यस बैठकमा राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणा उपस्थित थिए। महामन्त्री राणा सुवेदी नेतृत्वको समितिमा आन्दोलन परिचालन समितिमा पनि छन्। जबकि राप्रपाले भने आफैं आन्दोलन गर्ने निर्णय गरेको छ।
राप्रपाले चैत ५ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमै राजसंस्था पुनर्स्थापना आन्दोलन गर्ने निर्णय गरेको थियो। राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन उसको तयारी छ।
राप्रपाले अध्यक्ष लिङदेनको नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गर्नुअघि महामन्त्री राणाले राजा फर्काउने आन्दोलनको नेतृत्व गरेका थिए। तर, केन्द्रीय सम्पादन समिति बैठकले महामन्त्री राणाको जिम्मेवारी खोस्यो।
त्यसपछि पार्टीसँग चिढिएका राणाले भनेका थिए, ‘म र रवीन्द्र मिश्रजी नवराज सुवेदीज्यूको नेतृत्वमा बनेको जनआन्दोलन परिचालन समितिमा छौं। अब पार्टीले भन्दैमा ब्याक हुँदैनौं। नवराज सुवेदीले नै राजसंस्था फर्काउने आन्दोलनको अगुवाई गर्ने हो।’
त्यसयता राणा समूहले राप्रपाभित्र फरक मत राख्दै आएको छ।
सोही अनुसार राणासहित राप्रपाका केही पदाधिकारीहरू प्रसाईंसँग मिलेका छन्। अर्थात् पार्टीले आफैं आन्दोलन गर्ने भन्दा भन्दै पनि उनीहरू प्रसाईंलाई मानेर अघि बढ्न खोजेका छन्। तर राप्रपाले भने यसबारे औपचारिक रूपमा केही भनेको छैन।