गणतन्त्रवादी–राजावादीको प्रदर्शन : कसले कति उतार्दैछन् ? कस्तो छ सुरक्षा व्यवस्था ?-Sutra News

गणतन्त्रवादी–राजावादीको प्रदर्शन : कसले कति उतार्दैछन् ? कस्तो छ सुरक्षा व्यवस्था ?

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । गणतन्त्रवादी र राजसंस्थावादी समूहहरुले आज काठमाडौं उपत्यकामा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीको तर्फबाट समाजवादी मोर्चाको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेकपा सहभागि हुँदैछन् भने राजसंस्थावादीको तर्फबाट दुर्गा प्रसाइँको नेतृत्वमा अन्य राजसंस्थावादी समूहहरु सहभागि हुँदैछन् ।



समाजवादी मोर्चाले सरकारलाई खबरदारी गर्दै र गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने राजसंस्थावादीहरुले भने वर्तमान व्यवस्थाकै विरुद्ध प्रदर्शनको तयारी गरेका छन् ।

दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राखी आज काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । ठाउँठाउँमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ ।

सुरक्षा सतर्कता अपनाउँदै राजसंस्थावादीको प्रदर्शन चक्रपथभन्दा भित्र गर्न नदिने तयारीमा सरकार छ भने गणतन्त्रवादीको प्रदर्शन चक्रपथभित्र सीमित गर्ने तयारी छ । सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन् । जसका कारण यात्रुहरुले बिहानैदेखि सास्ती पाएका छन् ।

विभिन्न क्षेत्रबाट प्रदर्शन थाल्ने तयारी गरेको गणतन्त्रवादी पक्षधरले भृकटीमण्डपमा कोणसभा गर्ने तयारी गरेको छ भने प्रसाइँ नेतृत्वको राजसंस्थावादीहरुको प्रदर्शन भने तीनकुनेमा पुगेर सभामा परिणत हुने तयारी छ ।

गणतन्त्रवादीहरुले आजको प्रदर्शनमा १ लाखभन्दा बढीको संख्यामा मानिसहरु उपस्थित हुने बताएका छन् । माओवादी केन्द्रका नेता सुदन किराँतीका अनुसार चार पार्टीको तर्फबाट १ लाखभन्दा बढीको संख्यामा मानिसहरु उपस्थित हुनेछन् ।

यता, राजसंस्थावादीहरुले फागुन २५ गतेको भन्दा बृहत प्रदर्शन गर्ने बताएका छन् । राजसंस्थावादी आन्दोलन परिचालन समितिका एक नेताले २५ गतेको भन्दा आजको प्रदर्शन बृहत हुने दाबी गरे ।

छुट्टाछुट्टै क्षेत्र र रुटमा प्रदर्शन हुने हुँदा दुई समूह आमनेसामने हुने सम्भावना कम भएको बुझाई सुरक्षा अधिकारीहरुको छ । यद्यपि, सम्भावित घटनालाई मध्यनजर गरी उच्च सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार प्रदर्शनलाई ध्यानमा राखी २५ सय जनपथ प्रहरी परिचालित हुँदैछन् ।

यसैगरी, सशस्त्र प्रहरीको तर्फबाट पनि १७ सय प्रहरी परिचालन गर्ने तयारी छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । जसको अर्थ साढे १७ सय सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार