समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको साथ !-Sutra News

समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको साथ !

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित चार दलले समाजवादी मोर्चाको नेतृत्वमा आज काठमाडौं उपत्यका केन्द्रीत प्रदर्शन गर्दैछन् । दलहरुले सरकारलाई खबरदारी गर्दै राजसंस्थावादीविरुद्ध प्रतिरोध गर्ने गरी प्रदर्शनको आयोजना गरेका छन् ।



दलहरुले एक लाखभन्दा बढी मानिस उर्ताने पनि तयारी गरेका छन् ।

सरकारविरुद्ध र राजसंस्थाविरुद्ध लक्षित गरिएको प्रदर्शनलाई सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले पनि सकारात्मक पहल भन्दै तारिफ गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले दलहरुको प्रदर्शन ‘प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल’ भएको टिप्पणी गरेका छन् ।

“प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो”, पोखरेलले भनेका छन् ।

उनले गणतन्त्रवादी शक्तिहरु एकआपसमा प्रतिस्पर्धा गरेपनि आवश्यकताअनुसार मिल्नुपर्ने बताउँदै घुमाउरो शैलीमा प्रदर्शनप्रति उनले ऐक्यबद्धता जनाएका छन् । उनले लोकतन्त्रमाथि धावा बोल्दा सबै लोकतान्त्रिक शक्तिहरु मिल्नुपर्ने तर्क गरेका छन् ।

“ राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्दछन्। एक अर्काको आलोचना र विरोध पनि गर्दछन्, जनअभिमतवाट आफुलाई स्थापित गर्ने कोशिस समेत गर्दछन्, तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन्”, पोखरेलले भनेका छन्, “इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार