

काठमाडौं । स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । केही समयदेखि नै लगातार उकालाेमा रहेकाे सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी महासंघअनुसार आज सुनकाे मूल्य सुन प्रतितोला १ लाख ७६ हजार २ सय रूपैयाँ कायम भएकाे छ । जुन बिहीबारकाे तुलनामा १ हजार ४ सय रूपैयाँले बढी हाे भने अघिल्लाे रेकर्डभन्दा २ सय रूपैयाँले बढी हाे ।
यसअघि गत चैत ६ गते स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसयता सुनकाे मूल्यमा करेक्सन देखिएकाे थियाे । बिहीबारसम्म आउँदा सुनकाे मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएकाे थियाे ।
सुनकाे मूल्य बढिरहँदा स्थानीय बजारमा शुक्रबार चाँदीकाे मूल्य पनि बढेको छ। बिहीबारकाे तुलनामा चाँदी प्रतितोला २० रूपैयाँले बढेकाे महासंघले जनाएकाे छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।