

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिअन्तर्गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन भयाे । जुन प्रदर्शनको कमाण्डर थिए, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ ।
तर, प्रसाइँको नेतृत्वमा तीनकुनेमा प्रदर्शन होइन, फिल्म देखाइयाे । अझ भनौं, एक्सनमा आधारित साउथ फिल्म शो गरियाे ।
स्वयं प्रसाइँले फिल्ममा एक्सन देखाए ।
सुरुवातीमा संयम देखिएको प्रदर्शनलाई नेतृत्वकर्ता प्रसाइँ स्वयंले नै उग्र बनाए । उनी आफैंले गाडी चलाएर फिल्मी शैलीमा प्रहरीको सुरक्षा घेरा तोडे । जसपश्चात उनका समर्थक आक्रमक देखिए ।
सामाजिक सञ्जालमा सार्वजनिक प्रसाइँको भिडियोलाई हेर्दा, घटना कसरी अराजक भयो भने स्पष्ट हुन्छ । कालो चश्मा लगाएका प्रसाइँले अपशब्द बोल्दै प्रहरी घेरामाथि नै गाडी चढाएका थिए । मानाैं प्रहरीलाई नै किचेर मार्न खाेज्दैछन् ।
प्रसाइँको गतिविधिपछि हौसिएका समर्थकहरूले प्रहरीमाथि ढुंगामुढा हान्न सुरु गरेका थिए । जसपश्चात प्रहरीले बाध्यकारीरुपमा लाठी चार्ज गर्दै पानीको फोहोरा र अश्रुग्याँस हान्न सुरु गरेको थियो ।
जुन घटनापछि तीनकुने क्षेत्र रणमैदानमा परिणत भयाे । जहाँ एकपछि अर्काे गरी आगजनीका घटना घटाइए ।
सुरूवातमा तीनकुने क्षेत्रमै रहेकाे मार्बल घरमा प्रदर्शनकारीले आगाे लगाएका थिए । त्यसपछि पेरिसडाँडामा पार्किङमा राखेकाे एउटा गाडी र बाइक जलाए ।
आगाे लगाउने घटना राेकिएन ।
राजावादी समर्थकले आलोकनगरस्थित एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय नै जलाए । अन्नपूर्ण राष्ट्रिय दैनिक पत्रिका, कान्तिपुर दैनिक पत्रिकाकाे कार्यालयमा ताेडफाेड गरे । दुवै पत्रिकाका कार्यालयमा आगाे लगाउने प्रयास पनि गरिएका थिए ।
सँगै, राजावादी समर्थकले बालकुमारी र च्यासल क्षेत्रमा थप ३ वटा गाडी जलाए ।
हुँदा–हुँदा जडीबुटी उत्पादन कम्पनीमा समेत आगाे लगाइयाे । त्यससँगै राजावादी समर्थकले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गर्दै आगजनी गरे ।
आगजनी र ताेडफाेडका घटनापछि काेटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाइयाे । जहाँ समर्थकहरूले सुपरमार्केटबाट थुप्रै सामानहरू लगेका छन् । भाटभटेनीमा ताेडफाेड पनि मच्चाइएकाे छ ।
याे घटनाले राजावादीहरू आन्दाेलनभन्दा अराजकता मच्चाउन लागि परेकाे देखिन्छ । जहाँ अभद्र फिल्मी शैली पछ्याइएकाे पाइन्छ ।
प्रसाइँलाई अघि सारेर अरु जोगिए
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिअन्तर्गत प्रदर्शन भएको भएपनि शुक्रबारको प्रर्दशनको कमाण्ड प्रसाइँले लिएका थिए । जहाँ प्रसाइँ बाहेक शीर्ष तहका कोही पनि राजावादी नेता उपस्थित थिएनन् ।
शुक्रबारको प्रदर्शन निकै अराजक प्रकृतिको देखिन्छ । जसमाथि सरकारले कानुनी हिसाबले नै कारबाही अगाडि बढाउने तयारी गरेकाे छ ।
राजावादी समर्थकहरुले भने घटनाको जिम्मा सरकारले लिनुपर्ने भनेको छ । यद्दपि, देखिएका घटनालाई हेर्दा सरकारले कानुनी कारबाहीकाे बाटाे लिन्छ ।
यदि कानुनी कारबाही थालेको खण्डमा अरु राजावादी दल र नेताहरु पन्छिने सम्भावना छ ।
राप्रपाका एक पदाधिकारी आजको प्रदर्शनको जिम्मा प्रसाइँले मात्रै लिने अवस्था भएकाे बताउँछन् । उनका अनुसार राप्रपाको सदासयता भएपनि आजको आन्दोलन राप्रपाको होइन ।