‘राजावादीका क्रियाकलापले नयाँ पुस्तालाई राजतन्त्रको निरङ्कुशता र दमन बुझ्ने मौका मिल्यो’-Sutra News

‘राजावादीका क्रियाकलापले नयाँ पुस्तालाई राजतन्त्रको निरङ्कुशता र दमन बुझ्ने मौका मिल्यो’

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्।



उनले आज सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको बताए।

महासचिव पोखरेलले जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कारकाहीको दायरामा ल्याउनुपर्ने बताए।

उनले एकै दिन दुईवटा जनप्रदर्शन भए पनि विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रहेको जनाए।

महासचिव पोखरेलले समाजवादी मोर्चाको कार्यक्रम शान्त, मर्यादित एवं सन्देश मुलुक र पूर्वराजा समर्थकहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रहेको उल्लेख गरे।

‘व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्दछ। त्यसमा पूर्वराजा समर्थकहरू पूर्णतः असफल भए। बरू उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्ने नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

महासचिव पोखरेलले कसैको निहित स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार