

काठमाडौं । हिजो भएको जनधनको क्षतिप्रति सम्पूर्ण नेपालीको मन रोएको छ। पत्रकार सुरेश रजक र किर्तिपुरका सविन महर्जनले अनाहकमा ज्यान गुमाउनु पर्यो भने ३० भन्दा बढी घाइते भए। कयौं व्यक्तिको निजी घर जलाइए, मिडिया हाउसहरू माथि आक्रमण भए, भाटभटेनी जस्ता व्यापारिक गृहहरूमा लुटपाट भयो।
हिजो भनिएको आन्दोलन राजनीतिक भएपनि त्यो अराजकतर्फ बढेको देखियो। त्यसो त त्यसको पछाडीको पृष्ठभूमी भने सरकारले गैरलोकतान्त्रिक काम गर्दै आएपछिको परिणाम थियो भन्न पनि सकिन्छ। हिजो भएको आन्दोलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले यसको जिम्मेवारी आफ्नो पार्टी नभएको भनेका छन्। हिजोको आन्दोलनमा न राजेन्द्र लिङदेन उपस्थित थिए न ज्ञानेन्द्र शाही नै। विवादित व्यवसायी दुर्गा प्रसाईंको क्षणिक आवेगले भड्किएको अराजक स्थितिको परिणामस्वरूप थियो त्यो भयावह स्थिति।
फ्रान्सेली राज्य क्रान्ति हुँदा सन् १७८९ अक्टाेबरमा राजा रानीलाई कब्जामा लिइ भर्सेलीज दरबारबाट ट्विलरिज दरबारमा बन्दी बनाइएको थियो। त्यसले पनि पुष्टि गयो- राजाले आफैं राज्य हुँ भनेर घमण्ड गरेपछि राजाको पतन निश्चित हुन्छ। सबैभन्दा बलियो समय हो। राज्यको लागि आफुले कुनै योगदान गर्नु नपर्ने दुर्गा प्रसाईंहरु जस्ता झुण्डले राजालाई थपक्क दरबार भित्र्याइदिने भएपछि ज्ञानेन्द्र शाहले केही दुखै गर्न परेन। ‘छु मन्तर’ र ‘फु मन्तर’को भरमा दरबारको ढाेकाको ताला कसरी खोलिन्छ होला !
केही समयअघि अमेरिकाले नेपालको बित्तिय संघीयता सुधारका लागि २० मिलियन डलर र जैविक विविधताका लागि तोकिएको १९ मिलियन डलर सहयोग रद्ध गर्दा अधिकांशले सामाजिक संजालमा खुसी व्यक्त गरेका थिए। आफ्नो देशमा आएको सहयोग रकमको श्रोत बन्द हुँदा हामी खुसी व्यक्त गर्छौ भने, हामी नेपालीहरुमा कस्तो खाले प्रवृत्ति मौलाउदै गएको हौ अनि हामी कति अराष्ट्रवादी हौ भन्ने कुरा यसैबाट प्रमाणित भएन र ? हैन भने, त्यो खुसी कस्का विरुद्ध थियो?
यही र यस्तै खुफिया सन्जालमा हुर्केका हुन् दुर्गा प्रसाईंहरु। किसानले हलो फाल्ने, उद्योगीले ब्यापारको ढोका बन्द गर्ने, शिक्षकले पढाउन छोडेर आम हडताल गर्ने, जागीरेले हाजिर गरेर आन्दोलनमा हिड्ने, परम्परा के नौलो हो र नेपालमा ? देश बिकास भएन भनेर चिच्याउनेहरुले खेतको एक कोदाली माटाे उचालेर त हेर !
नेपालीहरुले प्रजातन्त्र आउँदा पनि खुसियाली मनाउँछन् र प्रजातन्त्र जाँदा अनि अधिकार खोसिदा पनि दिपावली गर्छन्। नेपालीको चरित्र आधा अँध्यारो, आधा उज्यालो छ। अहिले दुर्गा प्रसाईंहरु नेपाली जनताले पचासौं बर्ष लडेर प्राप्त गरेको स्वतन्त्रता दरबारमा बुझाउन उद्दत छन्। उनीहरूको भाषामा यो नै क्रान्ति हो। यो नै मुक्ति हो। उनीहरू नेपाली जनतालाई के बाट मुक्ति दिलाउँदै छन्, स्वयं उनीहरूलाई नै थाहा छैन। राजा आएर देश बचाउने उद्योगमा लागेकाहरुलाई सोध्न मन लाग्छ- के यो देश अहिले मर्न लागेको छ र बचाउनलाई ?
कुनै बेला बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न गएका नेपाली छात्राहरूलाई प्राध्यापकहरुसँग अनैतिक सम्बन्ध राख्यो भन्ने बोलिका बिरुद्ध मानहानिको मुद्दा लगाइएको थियो दुर्गा प्रसाईंलाई। सन २०१८ तिर बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत अभिभावक र महिला नेपाली विद्यार्थीहरूलाई स्तब्ध पार्ने त्यस्तो निन्दनीय टिप्पणी गरेकोमा प्रसाईंलाई कडा कानुनी कारबाही गर्न माग गरिएको थियो। उनको बेविचारी चरित्रको देखाउने यतो भन्दा ठूलो उदाहरण अरू के हुन सक्ला र !
मेडिकल व्यवसायी उनी बैंकको ऋण तिर्न हुन्न भन्ने अभियन्ता हुन्। उनलाई झापामा मेडिकल कलेज र अस्पताल स्थापना गर्न नबिल बैंकले दिएको ७५ करोड रुपैयाँ ऋण चुक्ता नगरेको आरोप लागेको छ। सार्वजनिक भए अनुसार झन्डै ८ अर्ब ऋण बोकेर हिंडेका प्रसाईं अहिले त्यो ऋण कसरी मिनाहा गराउने भन्ने चलखेलमा छन्। त्यसका लागि कहिले कहिले एमालेको फेरो समाउँछन् अनि कहिले पूर्वराजाको। त्यसअघि आफ्नो स्वार्थ पूरा भएककै कारण उनले प्रचण्डको साथ छोडेको त नेपाली जनताले बिर्सेकै छैनन्।
तर, हाम्रो दुर्भाग्य यस्तै छ- जो अराजक छ, उसैले राजनीतिक नेतृत्व लिन्छ। जति बेइमानी गर्यो उति नै उसको राजनीतिक हाइट बढ्ने देश हो यो। बलात्कारी, बैंक ठग, भ्रष्टाचारी, हत्याराहरुले नै देशको राज्यसत्तामा पुग्ने र चुनाव जित्ने गरेका छन्। हरेक दस बर्षमा ब्यवस्था फेर्न चाहन्छन् नेपालीहरू। तर जनताको अवस्थाप्रति भने कसैलाई चासो छैन।
यी सबै वृतान्त पेश गरेपछि यति भन्न सकिन्छ- दुर्गा प्रसाइहरु नै हुन् यो देशलाई बदल्ने तर उल्टो बाटोबाट। बौद्धिक तप्का जबससम्म निष्क्रिय रहन्छ, माध्यमिक शिक्षा पूरा नगरेकाहरुनै सकृय भइरहन्छन्। हिजोको भाडभैलो पनि त्यसैको बिम्ब हो।
हामीले राजनीतिको रूपान्तरणका लागि पुस्तान्तरणको पनि कुरा गरिरहेका छौँ र श्री ३ भन्दा कम हुन नखोज्ने प्रचण्ड, शेरबहादुर देउवा, केपी ओलीहरूको विकल्प पनि खोजिरहेका छौँ। जनताको यो आक्रोशलाई नजरअन्दाज गर्न पनि सकिंदैन। तर राजावादीहरू ८६ वर्षे पुरानै पञ्चको कमाण्डरसिपमा ७८ वर्षे राजा ल्याउन चाहिरहेका छन्। यो चाहिं कसरी विकल्प हुन सक्ला र ?
राजा आउ देश बचाउको अभियान चलिरहेको छ। सिर्फ एक जना मान्छे राजा भएर यो देश कसरी बचाउलान् त? जबकी यहाँ हरेक पार्टीभित्रका सयौं राजाहरुले त हार खाइरहेका छन्। हिजोको आन्दोलन र जनधनको क्षतीले अब ओली सरकारले निहुँ खोजिरहनु हुन्न भन्ने देखायो। बेलैमा संयमता सरकारले अपनाउन सकेन भने फेरी पनि निर्दोषहरूले ज्यान गुमाउनु पर्ने निश्चित जस्तै हुने छ।
अब कम्तीमा सरकारले हिन्दू धर्मको स्थापना र संघीयता खारेजीको मुद्दामा लचिलोपन अप्नाउनुको बिकल्प नभएको कुरा राप्रपाका एक नेताले बताए। ‘राजाको कुरा पछि गर्दै गरौंला अहिले हिन्दु धर्मको पुनर्स्थापना र संघीयता खारेजीको मुद्दामाथी राज्यले सम्बोधन नगरी आन्दोलन थामिने कुरै छैन,’ उनले भने।
यसैगरी आन्दोलन केही होइन भनेर ख्याख्याल गरिरहने हो भने उनीहरूलाई शेख हसिनाले जस्तै मुलुक छोडेर भाग्नपर्ने दिन नआउला भन्ने छैन।