प्रसाईंलाई विश्वास गर्दा निम्तिएको पूर्वराजाको संकट : सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्दै सरकार-Sutra News

प्रसाईंलाई विश्वास गर्दा निम्तिएको पूर्वराजाको संकट : सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्दै सरकार

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । दुई जनाको ज्यान जाने गरी शुक्रबार भएको हिंसात्मक आन्दोलन भड्काएको आरोपमा सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको हो।



‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो।

हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन्। सरकारले यो निर्णय लिने तयारी गरेको छ।

शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ। गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ।

शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ। व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए।

ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्। अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ।

भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। झडपमा सविन महर्जन गोली लागेर मरेका छन्। घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए।

तीनकुने क्षेत्रमा भएको हिसांत्मक आन्दोलनमा दोषी ठहर गर्दै प्रहरीले संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको खोजी गरिरहेको छ। प्रहरीले जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखेको छ।

राजा ल्याउने अभियानका कमान्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रिएपछि भिड उत्तेजित भएर ढुंगामुढा गर्न थालेको थियो। भिड अनियन्त्रित भएपछि सभाका संयोजक नवराज सुवेदी भागेका थिए भने प्रसाईं गाडी लिएर हिँडेका थिए। भिड उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिले निजी घरमा आगजनी गरे।

आक्रामक भिडले ट्राफिक बिट भत्कायो। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड भएको छ। उनीहरूले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरे। कोटेश्वरको भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट र तोडफोड पनि गरेका थिए।

प्रसाईंलाई विश्वास गर्दा पूर्वराजालाई निम्तिएको संकट

शुक्रबारको हिंसात्मक आन्दोलनपछि अहिले प्रसाईं फरार छन् भने सरकारको निसानामा पूर्वराजा स्वयम परेका छन्। आन्दोलन हुनुअघि आफ्नै निवासमा भेट्न बोलाएर आन्दोलनको डिजाइन गरेको उनीमाथि आरोप छ। आर्थिक स्रोत सम्म पनि जुटाइदिएको भन्दै छानबिन हुनुपर्ने गणतन्त्र पक्षधर नेताहरूले बताईरहेका छन्।

मेडिकल व्यवसाय गर्दै आएका विवादास्पद छवि भएका प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएर पठाउनु नै उनको लागि भूल भएको बुझ्न कठिन छैन। त्यसो त यसअघि नवराज सुवेदी आफैंले नेतृत्व गरेर आन्दोलन गर्ने सहमति थियो तर अन्तिम समयमा पूर्वराजाकै इच्छामा प्रसाईं कमान्डर बनाइए। र, आन्दोलन हिंसात्मक भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार