

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्ने नेचर नै नभएको बताएका छन्।
नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्रले चाहदैमा गणतन्त्र नहट्ने बताए।
देउवाले हिजो काठमाडौंमा भएको घटनाले पनि ज्ञानेन्द्र राजा बन्ने सम्भावना नरहेको बताए।
उनले भने ‘हिजो काठमाडौंमा पूर्वराजाको नाममा हुलहुज्जत भयो। अराजक तरिकाले धेरै घरहरुमा आक्रमण गरेका छन्। त्यसले स्पष्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ? कहिले पनि संवैधानिक राजा भन्न खोजेका पनि थिएनन्।’
देउवाले ज्ञानेन्द्रको राजा बन्ने नेचर पनि नभएको भन्दै अगाडी थपे, ‘सम्भावना छैन। गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन।’