

काठमाडौं । बिहानको करिब दश बजिसकेको थियो, कलेजको अन्तिम दिन भएकोले आज बिदाई कार्यक्रमको आयोजना गरिएको थियो।
केही समयपछि सबैजना हलमा जम्मा भए, सबै विद्यार्थी हलमा जम्मा भइसके पनि नीलकमल आएको थिएन। सबैको ध्यान चाहिँ नीलकमलप्रति नै थियो।
ढिलो गरेर नीलकमल हल भित्र प्रवेश गर्यो।
उ प्रति सबै साथीहरूको ध्यानाकर्षण भइरहेको थियो। सबै जनाले आज नीलकमलको अनुहारमा अर्कै उदासीनता देखे, उनी पुरै उदास थिए। उनको अनुहारमा यस्तो उदासीनता थियो कि यो उनको जीवनको अन्तिम दिन हो। राजले उसको काँधमा हात राखेर भने, “नील!, हामी सबै साथीहरू सधैं तिम्रो साथमा हुनेछौं।”
सबैजना आइपुगेका थिए र कार्यक्रम पनि सुरु भइसकेको थियो तर नीलकमलको अनुहार भने दाहिने तर्फ फर्किएको थियो, जहाँ केटीहरू बसिरहेका थिए।
उसले निलिमालाई हेरिरहेको थियो र निलीमा उसलाई हेर्दै थिइन्, दुबैजना एक अर्काको आँखामा हेर्दै सोचिरहेका थिए, के यो माया हो ? हामी तीन वर्षअघि भेट्यौं, साथी बन्यौं, प्रेममा पर्यौ, त्यसपछि एकअर्काको नजीक भयौं र आज तीन वर्ष पूरा भयो।
हाम्रो अध्ययन पनि सक्कियो। आज हामी एक अर्कालाई बिदाई दिएर छुट्दै छौ। अब भेट होला नहोला?
तिमी कहाँ हुन्छ्यौ? म कहाँ हुन्छु। भोलि झुल्किने घाममा पनि मैले तिम्रो न्यानो पाउदिन। हरेक बिहान तिम्रो सन्देश बोकेर झुल्किने घाम बिरानो हुने छ। पृथ्वीमा अँध्यारो छाउने छ। तिम्रो र मेरो खुसीको इन्द्रेणी सधैंको लागि समुन्द्रमा खस्ने छ….।
यसरी नै केही घण्टा बित्यो र कार्यक्रम सक्कियो।
त्यसपछि सबैले एक अर्कालाई भेट्न थाले, कतै मित्रताको आँसु झर्दै थियो, कतै भविष्यको चर्चा चलिरहेको थियो विद्यार्थीहरुमा र त्यतिबेला नीलकमल र निलीमा एक अर्काको नजिक भएका थिए। उनीहरूले पीडालाई अनुहार पछाडि लुकाएर राखे। निलीमा हाँस्न र बोल्न थालिन् तर नील भने उस्तै उदास थियो, उसको मुखबाट धेरै शब्द निस्किरहेका थिएनन्।
निलीमाले आफ्नो भावनालाई नियन्त्रणमा राखेकी थिई र नीलकमललाई हेरिरहेकी थिई। नीलकमलले पनि निलिमाको अनुहारलाई आफ्नो गुधुली आँखा भरिरहेको थियो। नीलकमलले निलिमाको तस्बिर खिचिरहेको थियो, उसले आँखा झिम्केको पनि थिएन, केहीबेर एकले अर्कालाई हेरिरहे।
अब भने निलीमा पनि उदास भइन्, त्यसपछि बिस्तारै दुवैको आँखाबाट पीडाको नदि बग्न थाल्यो र बाहिरबाट आवाज आयो- अब हल छोड्नुपर्छ।
समय निकै बितिसकेको थियो। सबैजना बाहिर निस्कन ढोका तिर लागे, नीलकमल र निलिमाले फेरि एकले अर्कालाई हेरिरहे, त्यतिबेला उनीहरुको मुटुको धड्कनै रोकिएको जस्तो, केही शान्ति हराइरहेको जस्तो, कतै दौडिरहेको जस्तो अनि दुबै जनाको मनमा पीडा र निराशाले सीमा नाघिरहेको जस्तो महसुस गरिरहेका थिए।
उनीहरु आ–आफ्नो ठाउँबाट हिँडिरहेका थिए र हल भर्खरै खाली हुँदै थियो, दुबैको आँखाबाट आँसु बगिरहेको थियो।
निलीमाको साथी शौरभी आएर निलीमालाई लिएर जान लागिन्।
नीलकमलको साथी राजले आएर उसलाई भन्यो- निलीमा अब जाँदैछिन्। तिमी पनि अब हल छोड र निलीमालाई बिदाइ गर। जब निलीमालाई यहाँबाट लैजाने संकेत गरे, नीलकमलले निलीमाको हात समात्यो तर उनी हल्लिनन्। निलीमा मौन थिइन्।
उनी उभिएर नीलकमललाई हेर्दै थिइन्, तब राजले नीललाई भने- भाइ, अब यहाँबाट जाऔं हल बन्द हुन लाग्यो।” यति भन्दै उसको काँधमा हात राख्यो तर उसले पनि केही जवाफ दिएन।
राजले हात समातेर अगाडि हेरे, त्यहा नीलकमलको शरीरबाट प्राण उडेर गइसकेको थियो, त्यहाँ नीलकमलको निर्जीव शरीर मात्रै बाँकी थियो, नीलकमलको खुट्टा जमिनमा खसिसकेको थियो। निलीमाकी साथीले निलीमालाई बोलाइन्। निलीमा पनि मौन थिइन्।
यो सब के भइरहेको छ?, कसैले बुझ्न सकेनन्। निलीमालाई हल्लाएको उनी पनि ढलिन् भुइँमा जहाँ नीलकमल ढलेको थियो। नीलकमलको आत्मा र निलीमाको आत्मा धेरै अघि हलबाट बाहिर निस्किसकेको थियो र उनीहरूले हातमा हात मिलाएर आफ्नो प्रेमिल संसार स्थापना गरिसकेका थिए।
यस्तो भएको थियो कि अत्याधिक पीडा र प्रेम टुट्ने डरले दुबै जनालाई सानो हृदयघात भएको थियो र उनीहरुको मुटुको धड्कन त्यहीँ रोकिएको थियो।