

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान’ सुरू भएको छ। शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन्।
शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वरमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि त्यसलाई नेतृत्व गर्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पूर्वराजा शाहलाई तत्काल पक्राउ गर्नुपर्ने उनीहरूको माग छ।
फेसबुकमा समिक बडालले लेखेका छन्, ‘हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्रिने गृहमन्त्रीज्यू ? एकदिन अगाडि निर्मल निवासमा कथित कमाण्डरलाई बोलाएर हत्या, लुटपाट, डकैतीको योजना बनाउने, लाखौं संख्यामा फलोअर भएका फेसबुक पेज किनेर हिंसालाई आन्दोलनको रूपमा ग्लोरीफाई गर्ने सफ्ट कन्टेन्ट बनाउन लगाउने मुख्य योजनाकार ज्ञानेन्द्र कहिले पक्राऊ पर्छ ? मानव हत्यारा ज्ञानेन्द्रलाई पक्राउ गर।’
त्यसैगरी जयनारी सावित्रीले पनि ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र राख्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गरेकी छन्। उनले लेखेकी छन्, ‘ज्ञानेन्द्र शाहलाई तुरुन्तै पक्राउ गर।’
प्रायःले एकै किसिमका पोस्ट र क्याप्सन राखेर ह्याशट्याग अभियानलाई जोड दिइरहेका छन्।
तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।