

काठमाडौं । शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनको अघिल्लो दिन पत्रकार, कलाकारसहित ३१ जनाको नाम समावेश गरेर अपिल सार्वजनिक भयो।
छलफलको आयोजना भाष्करराज राजकर्णिकारले गरेका थिए। राजा फर्काउन भन्दै गठन गरिएको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल पनि त्यसमा सक्रिय थिए। उनले केही व्यक्तिलाई फोन गरेर कार्यक्रममा बोलाएका थिए।
६ बुँदे अपिलमा सुरुमा भाष्करराज राजकर्णिकारको नाम छ। त्यसपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षद्वय कुशकुमार जोशी र भवानी राणा तथा मनीषा कोइरालाको नाम छ।
अर्को पानामा विनोदबहादुर श्रेष्ठ, राजाराज गिरी, दीपक गिरी, युवराज घिमिरे, किशोर प्रधान, दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, जीवराम भण्डारी, ध्रुवनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी, स्वागत नेपालको नाम छ।
यसैगरी, अनिल योगी, किशोर थापा, भीम उदास, उत्तमकृष्ण श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, आशिष शेरचन, मधुसुदन थापा, टीकाराम यात्री, दुर्गाबहादुर थापा, जेसन वैद्य, यज्ञराज अधिकारी, एजी शेर्पा र सर्वेन्द्र खनालको पनि नाम छ। तर कसैको हस्ताक्षर छैन।
हस्ताक्षर विना सार्वजनिक भएको त्यो अपिलमा राजावादीलाई प्रदर्शनको अधिकार हुने र कुनै अप्रिय घटना भएमा सरकार जिम्मेवार हुने उल्लेख थियो। तर, राजावादीले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भयो।
राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
राजावादीको उक्त आन्दोलन हिंसात्मक भएपछी आफूलाई निर्दोष देखाउन अहिले केही व्यक्तिहरूले आपत्ति जनाएका छन्। अनुमति विना आफूहरूको नाम राखेर किर्ते गरिएको भन्दै उनीहरूले आपत्तिसमेत जनाएका छन्।
विरोध भएपछी असहमति राख्नेहरू
हिंसात्मक आन्दोलन भएको अघिल्लो दिन उल्लेखित व्यक्तिहरूले बोलेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल छ। जसमा पत्रकार टिकाराम यात्रीदेखि सर्वेन्द्र खनालसम्म छन् भने कलाकार दीपक राज गिरीदेखि मनिषा कोइरालासम्म भिडियोमा देखिएका छन्। त्यस भिडियोलाई लिएर अहिले सामाजिक संजालमा ‘शुक्रबार भएको हिंसाको जिम्मेवारी लिनुपर्छ’ भन्दै पोस्टहरू व्याप्त छन्। त्यसपछि अहिले उनीहरूमध्ये धेरैलाई आफूलाई बचाउ गर्न थालेका छन्।
नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आफ्नो नाम किर्ते भएको बताए। ‘वक्तव्यमा मेरो हस्ताक्षर पनि छैन, यसमा सहमति पनि छैन,’ उनले भने, ‘देशमा नयाँ पार्टीहरू पनि जन्मिए तर डेलिभरी दिन सकेनन्। त्यसैले जनताले नयाँ नेता खोजिरहेकाले अब अर्को शक्ति चाहिन्छ भन्ने मेरो पहिलेदेखिकै धारणा हो। तर वक्तव्यमा मेरो सहमति छैन।’
आफूले प्रदर्शनमा मुठभेड हुनसक्ने भएकाले सजग हुनुपर्छ भनेको तर राजवादीको प्रदर्शनमा सहयोग गर्नुपर्छ नभनेको उनको दाबी छ।
पत्रकार टिकाराम यात्रीले पनि उक्त वक्तव्य प्रति असहमति व्यक्त गरेका छन्। उनले आज भिडियो सार्वजनिक गर्दै आफू कार्यक्रममा सहभागी भएको स्वीकार गर्दै भनेका छन्, ‘राजनीतिक पद्दति र प्रणालीका दृष्टिकोणले अहिले खराब होला तर ताप के हो भने यहाँबाट जान खोजेको भुङ्ग्रो कदापि होइन भन्ने थियो। यो सार भए तपाईंहरूले बुझ्नु हुन्छ होला।’
कलाकार दीपकराज गिरीले आफू कसकै पक्षमा नरहेको प्रष्टोक्ति दिए। ‘म न त अहिलेको श्री ३ (प्रचण्ड, केपी, शेबहादुर) को पक्षमा छु, न त उहिलेका श्री ५ को पक्षमा। कुनै व्यक्ति वा वादको पक्षपोषण गरिन्न। आएको समाचार गलत छ,’ उनले शनिबार बिहान फेसबूकमा लेखेका छन्।