

काठमाडौं । कलाकार दीपकराज गिरीले अहिलेको अवस्था आउनुमा मुख्य दल र नेताहरू जिम्मेवार भएकाे बताएका छन् । गणतन्त्रवादीहरूले थुपारेकाे कुशासनकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहको माग हुन थालेकाे गिरीकाे टिप्पणी छ ।
‘यहाँ शासन व्यवस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र विरोधी हुन्छ कि त राजावादी हुन्छ,’ आफूलाई राजावादीको ट्याग दिइएको बारेमा उनले भनेका छन्,‘तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै हो जनतामा नैराश्यता आएको, यहाँ पूराना राजाको डिमान्ड बढाएको तपाईंहरूकै शासन शैलीले हो!’
उनले आफू निरन्तर परिवर्तनकाे पक्षमा रहेकाे भन्दै आफूलाई राजावादीकाे ट्याग दिइएकाे प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ, मेरो राजावादी यात्रा ठोस रूपमा सुरु २०४६ पछि सुरु भएको हो, मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन विचार र दललाई अंगालौ भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर ‘राजा’को पार्टी रोजियो’, व्यंग्यात्मक शैलीमा उनले भनेका छन्, ‘त्यसपछि २०६२ र६३ आयो, त्यतिबेला मूलक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेज बाट प्रभावित पनि भइयो र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिँडियो पनि !! त्यति बेला फेरी एकपल्ट राजावादी भइयो!’
शासक र शासन शैलीकाे विराेध गर्दा ‘गणतन्त्र विरोधी’ या ‘राजावादी’को ट्याग भिराइने गरेको गिरिकाे जिकिर छ ।
सम्बन्धित समाचार
जसले राजावादीको हिंसात्मक आन्दोलनको अघिल्लो दिन छलफल गरे, विरोध भएपछी पन्छिए