व्यवस्थाप्रति किन असन्तुष्ट छन् नागरिक ?-Sutra News

व्यवस्थाप्रति किन असन्तुष्ट छन् नागरिक ?

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

वर्तमान व्यवस्थाप्रति नागरिक निकै असन्तुष्ट छन् । जसको प्रभाव सामाजिक सञ्जालदेखि सडकसम्म पोखिएको छ । अहिले विभिन्न नाममा सडकमा देखिएको आन्दोलन पनि सोही असन्तुष्टिकै कारण हो । अहिले कतिपयले व्यवस्थाकै विकल्प खोज्ने गरी पनि एजेन्डा उरालेका छन् । जुन नागरिकले विकल्प नदेख्दाको अवस्था हो ।



हुन पनि पटक–पटक व्यवस्था परिवर्तन भए पनि अवस्थामा कत्ति परिवर्तन आउन सकेको छैन । जसकारण यो असन्तुष्टि झनै बढिरहेको छ । यसको मुख्य कारण शासन व्यवस्था, आर्थिक स्थिरता, सामाजिक न्याय, भ्रष्टाचार, रोजगारीको अभाव र नीतिगत अस्थिरता जस्ता विविध पक्षहरू हुन् ।

सबैभन्दा पहिले, नेपाली जनताले जुनसुकै व्यवस्था आए पनि स्थायित्व, सुशासन र जबाफदेहिता पाउने अपेक्षा राखेका छन् । तर, लामो समयदेखि देशको राजनीतिमा अस्थिरता कायम छ । जनताले राम्रो शासन र नीतिगत स्पष्टता खोजिरहेका छन्, तर उनीहरूलाई अव्यवस्थित र अनिश्चित शासनले निराश बनाएको छ ।

मुलुकमा आर्थिक अस्थिरता र बेरोजगारीको समस्या पनि निकै गहिरिँदो छ । जसको कारण लाखौँ युवा शक्ति बाध्यकारीरूपमा विदेशिन बाध्य भएका छन् । मुख्यगरी रोजगारी र अवसरको सीमितताले जनताको जिउन सक्ने आधार कमजोर बनाएको छ । शिक्षित युवा रोजगारीको खोजीमा भौँतारिनु परेको छ । सरकारले रोजगारी सिर्जना गर्ने प्रभावकारी नीति ल्याउन नसक्दा वैदेशिक रोजगारी नै उनीहरूको प्रमुख विकल्प बनेको छ । यसले दीर्घकालीन रूपमा देशको उत्पादनशील श्रम शक्ति गुम्ने खतरा बढाएको छ ।

कृषि क्षेत्रमा व्यापक सम्भावना भए पनि आधुनिकीकरण, लगानी र प्रविधिको अभावले अपेक्षित विकास हुन सकेको छैन । उद्योग र व्यापारको क्षेत्रमा पनि नीतिगत अस्थिरताका कारण लगानीकर्ताहरू हिचकिचाइरहेका छन् । यसको प्रत्यक्ष असर नेपाली नागरिकमा परेको छ, जसले व्यवस्थाप्रति उनीहरूको विश्वास घटाएको छ ।

बढ्दो सामाजिक असमानता पनि नागरिक असन्तुष्ट छन् । अवधारणागतरूपमा हेर्दा कानुन सबैका लागि समान हुनुपर्छ तर, व्यवहारमा त्यस्तो देखिँदैन । आज सामान्य नागरिक कानुनी अन्याय भोग्न बाध्य छन् भने पहुँचवालाहरूले सजिलै उन्मुक्ति पाउने परिपाटी बनिरहेको छ ।

भ्रष्टाचार अर्को गम्भीर समस्या हो । सार्वजनिक सेवा प्रवाहमा ढिलाइ, ढिलासुस्ती, पक्षपात र आर्थिक अनियमितताले जनताको आक्रोश बढाएको छ । विकास निर्माणका योजना सुस्त गतिमा अघि बढ्नुको मुख्य कारण पनि यही हो । भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न सरकार उदासिन देखिँदा जनताले आशा मारेका छन् ।

नीतिगत अस्थिरता पनि असन्तुष्टिको प्रमुख कारणमध्ये एक हो । ऐन, कानुन, नीति तथा कार्यक्रम बारम्बार परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन विकास योजनामा असर पारेको छ । नीतिगत अन्योलताले लगानीकर्ताहरू अन्योलमा परेका छन्, जसको असर समग्र अर्थतन्त्रमा परेको छ ।

यी सबै कारणहरूले गर्दा नेपाली जनता व्यवस्थाप्रति असन्तुष्ट छन् । उनीहरू परिवर्तन चाहन्छन्, तर हरेक परिवर्तनको अन्त्यमा समस्या उस्तै रहँदा निराश छन् । स्थायित्व, सुशासन, न्याय, रोजगारी र आर्थिक समृद्धि बिना व्यवस्थाप्रति भरोसा गर्न गाह्रो हुन्छ । जबसम्म यी विषयमा सुधार आउँदैन, नेपाली जनताको असन्तुष्टि घट्ने सम्भावना न्यून छ ।

निष्कर्षमा, नागरिकका असन्तुष्ट भइरहँदा उनीहरूका असन्तुष्टिलाई कोही कसैले दुरुपयोग गर्न सक्छन् । या भनौं व्यवस्था विरोधी गलत तत्वले फाइदा उठाउन सक्छन् । जसमा जिम्मेवार बन्नु र जबाफदेही हुनु अहिलेको नेतृत्वको मूल दायित्व हो । यति समयमै जबाफदेही बन्न नसकेमा त्यसले ठूलो क्षति व्यहोर्न बाध्य पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार