

काठमाडौं । राजसंस्थावादी मुख्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवादकै बिच राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । जुन समितिको संयोजकमा तोकिएका थिए, राप्रपाकै नेता नवराज सुवेदी ।
तर, ८७ वर्षीया सुवेदीसँग आन्दोलनलाई नेतृत्व गर्न सहजता थिएन । नामका संयोजकले पुनः दुर्गा प्रसाईँलाई तोकेका थिए आन्दोलनको कमान्डर । अनि प्रसाईँको नेतृत्वमा सुरु भएको थियो, राजा फर्काउने आन्दोलनको तयारी ।
चैत १४ मा निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका प्रसाइँले शुक्रबारदेखि आन्दोलन चर्काउने तयारी गरेका थिए ।
हुन पनि प्रसाइँले नेतृत्व गरेको शुक्रवारको सुरुवाती प्रदर्शन पनि ठिकठाकै थियो । अपेक्षाकृत जनसहभागिता नभए पनि उक्त आन्दोलन अर्थपूर्ण थियो ।
तर, छोटो समयमै आन्दोलनको रूप बिग्रियो । आन्दोलन, आन्दोलन जस्तो भएन, हिंसात्मक बन्यो । अनि कोणसभाका लागि तोकिएको काठमाडौंको तीनकुने रण मैदान बन्यो ।
आन्दोलनलाई हिंसात्मक बनाउन स्वयं प्रसाईँ नै अघि सरेका थिए । प्रसाईँको कमान्डमा थालेको प्रदर्शनले दुई होनहार युवाको ज्यान लिएको छ । दर्जनौँलाई घाइते बनाएको छ । केही प्रतिष्ठित मिडिया र केही दलका कार्यालयलाई जलाउने र तोडफोड मच्चाउने काम भएको छ ।
प्रदर्शन यसरी नियन्त्रणबाहिर गयो कि, सन्चो नामक जडीबुटीको कारखाना जलाइयो, संवेदनशील मानिने नागरिक उड्डयनको कार्यालयलाई तोडफोड गरियो ।
जुन घटनापछि भागेका प्रसाईँ हालसम्म बेपत्ता छन् । प्रहरी प्रशासनले खोजी कार्य तीव्र बनाएको भए पनि भेटाउन सकिरहेको छैन ।
तीन कुने घटनापछि प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका राजावादीहरूलाई पक्राउ गरेको छ । संयुक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई उनकै निवास गुहेश्वरी हाइटमा नजरबन्दमा राखिएको छ ।
संयुक्त आन्दोलन समितिका संयोजक नजरबन्दमा, आन्दोलनका कमान्डर प्रसाईँ बेपत्ता र मुख्य नेताहरू प्रहरी हिरासतमा हुँदा आन्दोलनका कार्यक्रम पनि पूर्ण छिन्नभिन्न बनेको छ ।
समर्थकलाई हतोत्साहित नगराउन सुवेदीले चैत १७ देखि आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् । उनले आन्दोलनका मागहरूलाई सम्बोधन नगरिए एक सातापछि थप आक्रामक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आन्दोलन चर्काउने चेतावनी दिएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई छाड्न अल्टिमेटम पनि दिएको छ ।
तर, राजावादी नेताहरू नै तत्कालै आन्दोलनलाई थप अगाडि बढाउन नसक्ने अवस्था पुगेको बताउँछन् । सरकारले आगामी दिनमा चाल्ने कदम र नेताहरूको रिहाइको विषयले मात्रै आन्दोलनका कार्यक्रम तय हुने अवस्था भएको नेताहरूको भनाई छ ।
“हालकै अवस्थामा आन्दोलन अघि बढ्न सक्दैन, परिस्थिति कसरी अगाडि बढ्छ, त्यसपछि मात्रै तय हुनसक्छ”, एक राप्रपाका नेताले भनेका छन् ।
राप्रपाले पूर्वघोषित तालिकाअनुसार चैत २६ देखि प्रदर्शन थाल्ने बताएको छ । यद्यपि, मुख्य नेताहरू हिरासतमा हुँदै गर्दा आन्दोलनलाई अघि बढाउन सहज देखिन्न ।
स्वयं लिङ्देन पनि आन्दोलनका विषयमा स्पष्ट देखिएका छैनन् । उनी आफैंले पनि राप्रपा हिंसात्मक आन्दोलनको विपक्षमा भएको भन्दै सुरुवातीमा प्रसाईँ नेतृत्वको आन्दोलनको जिम्मा लिन अस्वीकार गरेका थिए ।
‘जसले जुन उद्देश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भए पनि निन्दनीय छ, राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन’, लिङदेनले भनेका थिए ।
यद्यपि, पार्टी बैठकपछि बाध्यकारीरुपमा आन्दोलनको बचाउ गर्ने अवस्थामा पुगे । लिङ्देनले पार्टी बैठकमार्फत तीनकुने घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानबिन गर्न माग माग समेत गरेको छ । तर, घटनाको जिम्मा लिने शैलीमा बोलेको छैन ।
लिङ्देन स्वयंलाई पनि आन्दोलनलाई अगाडि बढाउँदा के होला भन्ने अन्यौलता बनेको छ । किनकि उनी स्वयंले पनि तीनकुनेको हिंसात्मक घटना देखेका छन् ।
पूर्वराजाले बनाएको संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदी नजरबन्दमा, आन्दोलन परिचालनतर्फका कमान्डर प्रसाईँ बेपत्ता र रवीन्द्र मिश्र र धवल शमशेर राणासहित नेताहरू हिरासतमा हुँदै गर्दा आन्दोलन पूर्ण बिथोलिएको छ । यो घटनालाई हेर्दा, सिकारु चालकले गम्भीर दुर्घटनामा पु¥याएको देखिन्छ । जसले समग्र आन्दोलन पक्षधरलाई रक्षात्मक बनाएको भन्न सकिन्छ ।