

काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि आजको संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरेका हुन्। विपक्षीहरूले कुलमानलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन्।
आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएन।
प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरिएको छ। पत्रकारको समेत नाम टिपेरमात्र मिडिया कक्षमा प्रवेश दिइएको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले बताएका छन्।
पूर्वअध्यक्ष नारायण काफ्लेका अनुसार संसद भवनको मूल गेटदेखि ग्यालरीसम्म तीनपुस्ते भर्ने व्यवस्था फेरि प्रचलनमा ल्याइएको छ।